दुर्गम गाउँमा ‘होमडेलिभरी’ शून्य
प्रकाशित मितिः2 years ago

काठमाडौँ  . भौगोलिक विकटताका कारण केही वर्ष अगाडिसम्म गलकोट नगरपालिका क्षेत्रमा ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या व्यापक थियो । दुर्गम गाउँका महिलालाई सुत्केरी बेथाले च्याप्यो भने डोकोमा बोकेर अस्पताल पु¥याउने गर्थे । कोही अस्पतालमा पुगेर बच्चा जन्माउँथे त कोही बाटोमै सुत्केरी हुन्थे । कोहीको समयमै अस्पताल पुग्न नसक्दा अकालमै ज्यानसमेत जाने गथ्र्यो । तर पछिल्लो दुई वर्षयता गलकोटमा ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या शून्य छ ।

वडा–वडामा वर्थिङ सेन्टर स्थापना र स्वास्थ्य सेवाको पहुँच सहज भएपछि ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या शून्य भएको हो । दुर्गम गाउँका महिलाहरु पनि सचेत र शिक्षित बन्दै गएपछि ‘होमडेलिभरी’ हुने महिलाको सङ्ख्या शून्य भएको गलकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मीनराज गैरेले जानकारी दिए। गैरे गर्भवती भएपछि पहिलो पटक स्वास्थ्य संस्थामा चेकजाँच गर्न आउँदादेखिनै महिलालाई परामर्श दिने गरेको र सोही अनुसार महिलाहरु सचेत बन्दा ‘होमडेलिभरी’ कम भएको बताउछन्।

“अहिले गलकोटमा ‘होमडेलिभरी’को अवस्था शून्य छ, पहिले–पहिले यो समस्या थियो, अहिले वडा–वडामा वर्थिङ सेन्टर स्थापना भएका छन्, स्वास्थ्य सेवाको पहुँच पनि सहज बनेको छ, त्यसमाथि महिला दिदीबहिनीहरु पनि सचेत र शिक्षित बन्दै जानुभएको छ,” जनस्वास्थ्य निरीक्षक गैरेले भने, “मान्छे शिक्षित भयो भने धेरै समस्या समाधान हुने रैछ, हामीले पनि गर्भवती भएर स्वास्थ्य जाँचका लागि आएको पहिलो पटकदेखिनै काउन्सिल गरिरहेका हुन्छौं, त्यसले गर्दा पनि हाम्रो नगरपालिकामा ‘होमडेलिभरी’ न्यून बनेको हो ।”

एघार वडा रहेको गलकोटमा आठ स्थानमा वर्थिङ सेन्टर छन् । नागरिकलाई पायक पर्ने स्थानमा वर्थिङ सेन्टर हुँदा ‘होमडेलिभरी’ घटेको गरैको बुझाइ छ । गलकोट नगरपालिका–७ मल्लमा वर्थिङ सेन्टर नहुँदा समस्या थियो तर अहिले सोही वडाको मल्लमा स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर स्थापना भएपछि उक्त समस्या हटेको छ । वडा नम्बर ७ र ९ का नागरिकलाई लक्षित गरिएको यस वर्थिङ सेन्टरले अब सयौँ नागरिकलाई सेवा दिने गलकोट–७ का वडाध्यक्ष राज थापाले जानकारी दिए।

“अहिले मल्म स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर स्थापना गरेका छौँ, वर्थिङ सेन्टर निर्माणका लागि फेयरमेड फाउन्डेसन नेपाल र बिवाइसी बागलुङले रु तीन लाख बराबरको आवश्यक उपकरणहरु सहयोग गर्‍यो भने, वडाबाट रु दुई लाख ५० हजार खर्च ग¥यौँ”, वडाध्यक्ष थापाले भने, “यहाँ स्वास्थ्य चौकीसँगै वर्थिङ सेन्टर पनि भयो अब कोही पनि गर्भवतीले अकालमा ज्यान गुमाउनु पर्ने छैन, आवश्यक स्वास्थ्यकर्मी र कर्मचारी पनि व्यवस्थापन गरिरहेका छौँ ।”

यहाँ दुई हप्ता अगाडि मात्रै वर्थिङ सन्टेर सञ्चालमा आएको हो । त्यस अगाडिसम्म वडा नम्बर ७ र ९ का गर्भवतीलाई सुत्केरी गराउनका लागि गलकोट स्वास्थ्य चौकी र गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा जानु पर्ने अवस्था थियो । मल्म स्वास्थ्य चौकी प्रमुख अनिता कार्कीले स्वास्थ्य चौकीमा वर्थिङ सेन्टर स्थापना भएपछि एक महिलाको प्रसूति गराएको बताए ।

“यहाँ वर्थिङ सेन्टर स्थापना भएको धेरै समय भएको छैन, स्थापना भएको केही दिनमै एक जना गर्भवतीलाई सुरक्षित प्रसूति गराइयो, यहाँ यो सेवा नभएको भए उहाँ गलकोट प्राथमिक स्वास्थ्य केन्द्र अथवा गलकोट स्वास्थ्य चौकीमा जानु पथ्र्यो, वर्थिङ सेन्टर स्थापना भएपछि हामी पनि उत्साहित भएका छौँ” स्वास्थ्य चौकी प्रमुख कार्कीले भने, “केही वर्षदेखि यताको तथ्याङ्क हेर्दा यस क्षेत्रमा होमडेलिभरीको केस निकै कम छ, अब त हुने सम्भावना निकै कम भयो, पायक पर्ने ठाउँमा वर्थिङ सेन्टर छ, अब टाढा जानु पर्ने बाध्यता हट्यो ।”

वर्थिङ सेन्टरमा प्रसूति गराउँदा आमा तथा बच्चाको स्वास्थ्य अवस्थाबारे स्वास्थ्यकर्मीलाई जानकारी हुने हुँदा जटिल अवस्था भए तत्काल अन्तै रेफर गर्न सकिने कार्कीले बताए । “होमडेलिभरी त गराउनु हुँदैन, आमा र बच्चाको स्वास्थ्यका लागि भए पनि वर्थिङ सेन्टरमै आउनुपर्छ, यहाँ स्वास्थ्यकर्मीले शिशु र आमाको अवस्था राम्रोसँग बुझ्छन्, सामान्य भए यहीँ हुन्छ जटिल भए अन्तै रेफर गर्न सुझाउँछ, त्यसले गर्दा घरमै राखेर सुत्केरी गराउन खोज्नु हुँदैन”, उनले भने।

वर्थिङ सेन्टरकै कारण मातृ र शिशु मृत्युदर पनि शून्य भएको जनस्वास्थ्य निरीकक्ष गैरेको भनाइ छ। दुई वर्ष अगाडिसम्म फाट्टफुट्ट आमा तथा बच्चाको मृत्यु हुने गरेको भए पनि अहिले शून्यमै झरेको उनले बताए। नगरपालिकाले गर्भवती भएपछि स्वास्थ्य संस्थामा पुगेर चार पटक स्वास्थ्य परीक्षण गराए रु चार हजार पाँच यस भत्ता दिने गरेको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार नगरपालिकाले विसं २०७५ देखि नगरप्रमुख मातृ तथा शिशु पोषण कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

(Visited 70 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services