दसैंका लागि हवाई टिकट बुकिङ धमाधम
प्रकाशित मितिः2 years ago

काठमाडौं । दसैं, तिहार, छठलगायत चाडपर्व नेपालीको महत्वपूर्ण उत्सव हुन् । दसैं मा गाउँघर जाने, आफन्तसँग भेटघाट गर्ने र नयाँ लुगा लगाउने परम्परागत चलन छ । वर्षदिनको महत्वपूर्ण चाड भएकाले देश तथा विदेशदेखि सहर, सदरमुकामदेखि गाउँबेसी पुग्नेको लर्को लाग्छ । उनीहरु आफन्त र मान्यजनबाट टिका तथा आशिर्वाद थाप्न लामो यात्रा तय गरेर गन्तव्य पुग्छन् ।

दसैंमा आवतजावत गर्ने महत्वपूर्ण माध्यम भनेको सडक तथा हवाई यातायात नै हो । अझ प्रभावकारी यातायातको रुपमा हवाईसेवालाई लिइन्छ । दसैं आउन करिब तीन साता बाँकी रहँदा अहिले अधिकांश गन्तव्यको टिकट बुकिङ भइसकेको छ । वायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले दसैंका लागि धमाधम बुकिङ भइरहेको जानकारी दिए । उनले अहिले धेरैजसो गन्तव्यको अनलाइन बुकिङ सकिएको बताए ।

“दसैँका लागि अधिकांश बुकिङ भइसकेको छ, यात्रुको मागका आधारमा उडान संख्या थप्ने योजनामा छौँ ‘ट्रक रुट’ मा त्यति समस्या छैन ‘स्टल रुट’ मा जहाज लिमिटेड भएकाले अत्यधिक चाप हुन्छ ।” प्रवक्ता शर्माले दसैं लक्षित अनलाइन बुकिङ सकिए पनि जहाज प्रयाप्त रहेकाले थप उडान सञ्चालन गरिने जानकारी दिए ।

सामान्यतया दसैं आउन एक महिनाअघि देखि नै हवाई टिकट खुलाइन्छ । अहिले अनलाइनबाट सहज रुपमा टिकट पाइने भएकाले अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ भइसकेको एयरलाइन्सले जनाएका छन् । उनीहरुका अनुसार दसैंलाई लक्षित गरेर अहिले ७० प्रतिशत हाराहारी टिकट बुकिङ भइसकेको छ । संघका प्रवक्ता कँडेल अनलाईनबाटै अधिकांश बुकिङ भएको बताउछन् ।

आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य, सिम्रिक, सीता र समिट एयरको अग्रिम बुकिङ धमाधम भइरहेको छ । आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार आन्तरिक उडानतर्फ अहिले दैनिक दुई सय ६० दुईतर्फी उडानमार्फत झण्डै १३ हजार यात्रु आवतजावत गरिरहेका छन् । दसैंमा दैनिक तीन सय ५० हाराहारी उडानबाट २० हजार बढी यात्रुले सेवा लिने उनको अनुमान छ । “कोभिड–१९ महामारीमा उडानको चाप थियो, यस पटकको दसैँमा झनै यात्रुको चाप हुने देखिन्छ, यात्रुको मागअनुसार उडान थप्छौँ”, प्रवक्ता सिटौलाले भने ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दसैंका लागि अहिले धमाधम बुकिङ भइरहेको र समग्रमा ७० प्रतिशतसम्म टिकट बुकिङ भइसकेको जानकारी दिए । उनका अनुसार कम्पनीको अनलाइनबाट मात्रै ८० प्रतिशत बुकिङ भइसकेको छ ।

(Visited 65 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services