
काठमाडौं । बागलुङ नगरपालिकाका तात्कालीन उपप्रमुख सुरेन्द्र खड्कासहित पाँच जना कर्मचारीविरुद्ध ३४ लाख ८० हजार एक सय ३२ रुपियाँ भ्रष्टाचारको आरोप लागेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार बागलुङको बागलुङ नगरपालिकाका तात्कालीन वडा अध्यक्ष जीवन आचार्यमाथि पनि सो आरोप लागेको छ।
यसैगरी, सो नगरका तात्कालीन कर्मचारी प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवर, निमित्त प्रशासकीय अधिकृत हिमालयजिवी उपाध्याय, राजस्व शाखा सदस्य–सचिव काशिराम शर्मामाथि नगरपालिकाले प्रदेश सरकारले तोकेको भन्दा कम दररेट राखी मिलेमतोमा नदीजन्य पदार्थ बिक्री, वितरण गरेको आरोप लागेको हो।
आरोपितले त्यसरी ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरणको लागि सूचना प्रकाशन गर्दा र ठेक्का लगाउँदा सरकारले तोकेबमोजिमको दरमा ठेक्का नलगाइएको र दर घटी गरी सोही आधारमा राजस्व सङ्कलन हुँदा सरकारलाई १७ लाख ४० हजार ६६ रुपियाँ हानि नोक्सानी पुगेको आयोगको विज्ञप्तिमा उल्लेख छ।
सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम राजस्वको दोब्बर जरिवाना हुनुपर्ने माग दाबीसहित विशेष अदालत, काठमाडौंमा आइतबार आरोपपत्र दायर भएको छ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services