
सिड्नी । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले आफुहरुसँग पाँच बर्षे योजना रहेको बताएका छन् । मेयर पदको कार्यकाल १०० दिन पुगेको अवसरमा मेयर शाहले आफूहरु सय दिनको दौडमा नभई ५ वर्षका लागि तय गरिएका योजनाहरुमा काम गरिरहेको जनाएका हुन् ।आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर शाहले आफूहरु अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नभएको बताएका छन् । (भिडियो न्यूजका लागि लिंकमा जानुहोला)
आफू र आफ्ना कामप्रति विश्वास र समर्थन गर्नेहरुलाई आफूहरुलाई निराश नबनाउने उनले बताएका छन् ।मेयर शाहले लेखेका छन्, ’हाम्रो १०० दिन कस्तो रह्यो भन्ने बारेमा हामी आफैंले मूल्यांकन गर्नेभन्दा पनि आममानिसहरुले कसरी हेर्नुभयो भन्ने बढी अर्थपूर्ण हुन्छ । हामीले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिनेसम्म सचेत रहेर काम गर्यौं, त्यसले आममानिसहरुमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसहरुमा सकारात्मक उर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको हुन्छ । अन्यथा, हामीले यतिका कामहरु गर्यौं भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौं ।’
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services