
सिड्नी । अहिलेका सबैभन्दा चर्चित एवम् दर्शकले अत्याधिक मन पराएका कलाकाहरु हुन्, प्रकाश सपुत । मौलिक गायन र सिर्जना उनको विशेषता हो । सोही मौलिकता मार्फत उनले संगीत क्षेत्रमा फरक पहिचान बनाउन सफल भएका छन् । पछिल्लो समय जति पनि सिर्जना गरेका छन्, संगीतप्रेमीहरुले उत्तिकै मन पराएका छन् र समाजमा छुट्टै किसिमका स्थान बनाउन सफल भएका छन् । उनै प्रकाश सपुत, हरितालिका तीजको अवसरमा मायालु इन्टरटेन्मेन्टको व्यवस्थापनमा अस्ट्रेलियाको म्युजिकल टुरमा आएका थिए । गत अगस्ट १३ मा अस्ट्रेलियाको राजधानी क्यानवेराबाट सुरु भएको उनको साँगेतिक प्रस्तुती अगस्टको अन्तिममा पर्थमा पुगेर सकिएको छ । (भिडियो न्युजका लागि लिंकमा जानुहोला)
यसबीचमा उनले सिड्नी, मेलर्वन, ब्रिसवेन, होर्बाट र लन्चेस्टनमा पनि आफ्नो साँगेतिक प्रस्तुती दिएका थिए । प्रकाशको नाम र चर्चा अनुसार, दर्शकको सँख्या उल्लेख्य हुनुपर्ने हो तर, हरेक स्थानमा निकै कम दर्शकको उपस्थिति देखिएको थियो । तीजको माहोलमा अस्ट्रेलियाका हरेक शहरमा आवश्यकता भन्दा बढी कार्यक्रम आयोजना हुनु मुख्य समस्या थियो । अस्ट्रेलियाको साँगेतिक यात्रा समापनपछि सपुतले अप्रत्यक्ष रुपमा दर्शकको सँख्या न्यून रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आयोजक र कार्यक्रम व्यवस्थापकहरुलाई धन्यबाद दिदै आगामी दिनमा सबै प्रकारका दर्शकहरुलाई आकर्षित गर्ने गरि कार्यक्रम तय गर्न सुझाब दिएका छन् ।
‘प्रत्येक कार्यक्रममा दर्शकको राम्रो उपस्थिति रहयो । आफ्नो समय अनुकुल मिलाएर कार्यक्रममा उपस्थित सबै सबै नेपालीहरुमा धेरै धेरै धन्यबाद । आधुनिक शहरमा बसेर पनि नेपाली कला संस्कृति र चाडपर्वलाई महत्वका साथ मनाईरहको देख्दा आखा रसाउछ । व्यक्तिगत भेटघाटमा नेपालको चासो / चिन्ता व्यक्त गरेको सुन्दा खास राष्ट्रियाताको अर्थ बुझिन्छ’, उनले भनेका छन, ‘यद्यपि यसरी चाडपर्व विशेष र मौलिक कार्यक्रमहरुमा युवा पुस्ताको उपस्थिति एकदमै कम देखे । नया पुस्तालाई नेपाली मौलिक गितहरु सुनाउन हामीले हाम्रो सिर्जनामार्फत प्रयास गरिरहेका छौ । अब अलिकति नया पुस्तालाई आकर्षण गर्ने गरी कार्यक्रम आयोजना गर्न आयोजकहरुलाई अनुरोध गर्दछु ।’यसबर्षको हरितालिका तीजको अवसरमा अस्ट्रेलियाको विभिन्न शहरमा आयोजना भएको कार्यक्रमहरुमा सपुत सहित अन्य थुप्रै नेपाली कलाकारहरुले सहभागिता जनाएका थिए । कोभिड महामारीपछि अष्ट्रेलियामा नेपाली विद्यार्थी मात्र होइन्, कलाकारहरुको पनि बाक्लो उपस्थिति हुदै गएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services