राष्ट्रिय खेलकुदमा एनआरएनएले २० खेलमा सहभागिता जनाउने
प्रकाशित मितिः4 years ago

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई नेपाली खेलकुदको मूलधारमा समावेश गरिएको चार वर्ष भयो । विदेशमा बसिरहेका नेपाली र तिनका दोस्रो पुस्तालाई नेपाली खेलकुदमा आकर्षित गर्ने लक्ष्य तत्कालीन राष्ट्रिय खेलकुद परिषद (राखेप) नेतृत्वको थियो । आठौं राष्ट्रिय खेलकुदमा थोरै खेलमा सहभागी भएको एनआरएनए टिमले आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि दायरा फराकिलो बनाएको छ ।नवौं राष्ट्रियमा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश हुँदा एनआरएनए टिमले २० खेलमा सहभागिता जनाउने तयारी गरेको छ ।गैरआवासीय नेपालीको दोस्रो पुस्ताको नेपाल साइनो कमजोर हुँदै जानु संस्थाको नेतृत्वका लागि ठूलो चिन्ता हो । संसदमा विचाराधीन नागरिकता विधेयक लागू भएको अवस्थामा उनीहरुले राहत महशुस गर्नेछन् ।

नागरिकता विधेयकले एनआरएनएका नयाँ पुस्तालाई नेपाली नागरिकको पहिचान दिने उल्लेख गरिएको छ ।नयाँ पुस्तालाई नागरिकतासँगै भाषा, संस्कृति र खेलकुदको माध्यमबाट नेपालसँग जोड्ने प्रयास भइरहेको छ । खेल संस्कृतिबाट देश चिनाउने लक्ष्यसहित २०७६ असोजमा एनआरएनए स्पोर्टस एकेडेमी स्थापना भएको हो । आठौं खेलकुदमा सहभागिता र सफलताबाट हौसिएको एनआरएनएले आफ्नो खेलकुद च्यानललाई संस्थागत गरेको हो ।‘हामी विदेशमा रहेका नेपाली खेलाडीको सीपलाई नेपाली खेलाडीमाझ साझा गर्न चाहन्छौं,’ नवौं राष्ट्रिय खेलकुदका लागि एनआरएनए टिम संयोजक जीवन सेनले भने, ‘विदेशी शैलीको प्रशिक्षण, समन्वय क्षमता र अनुशासन नेपाली खेलाडीका लागि उपयोगी बन्नसक्छ ।

’लामो समयदेखि बेलायतमा बसोबास गरिरहेका पूर्व राष्ट्रय कराँते खेलाडी सेनका अनुसार एनआरएनएले यसपल्ट २० खेलका अरिकर १८१ जना खेलाडीलाई नवौं राष्ट्रिय खेलकुदमा सहभागी गराउनेछ । तीमध्ये आधाभन्दा बढी खेलाडी दोस्रो पुस्ताका हुनेछन् । विदेशमै जन्मे/हुर्केर त्यहीँको परिवेशबाट खेलकुदलाई अगाडि बढाइरहेका युवा पुस्ताका लागि नेपाली खेलकुद चिन्ने र आफूलाई चिनाउने अवसर पनि हुनेछ ।‘वास्तवमा एनआरएनएको दोस्रो पुस्तालाई नेपालको सामिप्यमा ल्याउन खेलकुदको माध्यमबाट हामीले प्रयास गर्न लागेका हौं । यसबाट दुवै पक्षले फाइदा लिनसक्छन्,’ सेनले भने । (अनलाइन खबर डटकमबाट)

(Visited 133 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services