
सिड्नी । अर्घाखाची समाज अस्ट्रेलियाले हरितालिका तीजको अवसरमा शनिबार साँगेतिक एवम् दर खुवाउने कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । अर्घाखाचीको गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा सहयोग गर्ने उद्देश्यसहित आयोजित सांगेतिक कार्यक्रममा नेपालका चर्चित गायक, सर्जक एवम् संगीतकार बसन्त थापा, गायिका देवी घर्ती, सुनितामी परियार, निशा केसी लगायतले बेजोड प्रस्तुती दिदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । गायक थापाले सालको पात टपरी हुनी, जाम सुस्तै, चौतारीको वर, पञ्चेबाचा लगायत आफ्ना चर्चित गीतहरु मार्फत दर्शकदीर्घालाई छमछमी नचाउन सफल भए ।
(भिडियो न्यूजका लागि लिंकमा जानुहोला )
गायिका देवी घर्तिले हेर्न होइ बाटुली, लौरी हरायो, कोइ छैन लगायतका बोलका तीज भाकाहरु मार्फत महिला दिदिबहिनीहरुको मन जित्न सफल भइन् । त्यस्तै, गायिका सुनितामी परियार र निसा केसीले तीजि गीतसँगै आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् । अर्घाखाची समाजका अध्यक्ष मिन भुषालको अध्यक्षतामा भएको कार्यक्रममा अस्ट्रेलियामा रहेका अर्घाखाँचीबासीसहित अन्य संगीतप्रेमीहरुको उल्लेख्य सहभागिता थियो । अस्ट्रेलियामा रहेका अर्घाखाचीबासीको हकहित र सहयोगार्थ स्थापना भएको समाजले स्थापनाकालदेखि अहिलेसम्म अर्घाखाँचीको शिक्षा र स्वास्थ्यको क्षेत्रमा १५ लाख रुपैयाँ भन्दा बढी सहयोग गरेको जनाएको छ ।
यसपटक पनि कार्यक्रम मार्फत भएको बचतले जिल्लाको गरिब तथा जेहेन्दार विद्यार्थीको सहयोगार्थ खर्च गरिने अध्यक्ष भुषालले जानकारी दिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, न्यू साउथ वेल्स राज्यका संयोजक देव गुरुङ लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता थियो । रकडेलको इन्द्रेणी फङसन सेन्टरमा आयोजित कार्यक्रमलाई ओसिएन एजुकेशन एण्ड भिषा सर्भिसले मुख्य प्रायोजन गरेको कार्यक्रममा विभिन्न संघसंस्थाले सहयोग गरेका थिए ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services