
सिड्नी । नेपाली रक व्याण्ड १९७४ एडी आफ्नो साँगेतिक प्रस्तुतीका लागि अस्ट्रेलिया भ्रमणमा छ । ‘यो मन त नेपाली हो अस्ट्रेलिया टुर २०२२’ अन्र्तगत व्याण्डले अस्ट्रेलियाको विभिन्न ८ शहरमा आफ्नो प्रस्तुती दिनेछन् । अगस्ट २१ तारिखमा पर्थदेखि सुरु भएको टुर सेप्टेम्बर ९ मा सिड्नी आएर समापन हुनेछ । टुर अन्र्तगत व्याण्डले डार्विन र पर्थमा कार्यक्रम सम्पन्न गरिसकेको छ भने अगस्ट २८ मा एडिलेड, सेप्टेम्बर २ मा होर्बाट, ४ मा मेलर्वन, ६ मा ब्रिसवेन, ७ मा क्यानवेरा र ९ तारिखमा सिड्नीमा प्रत्यक्ष कन्र्सट आयोजना हुनेछन् ।
हरेक शहरमा छुट्टाछुट्टै आयोजकले कन्र्सटको व्यवस्थापन गरिरहेका छन् । कोरोना महामारीपछि अस्ट्रेलियाले अन्तराष्ट्र्रिय सीमा खुल्ला गरेसँगै नेपाली समुदायको बाक्लो वसोवाश रहेको हरेक शहरमा साँगेतिक कार्यक्रम आयोजना हुने क्रम बढेको छ । ‘यो मन त मेरो नेपाली हो’ ‘परेलीमा’ सम्बोधन, हिड्दा–हिड्दै, छुदै तिम्रो मायाँले, ‘जति माया लाए पनि’, पहिलो जुनीमा जस्ता लोकप्रिय गीतका कलाकारहरु आउने भएपछि हरेक शहरमा उत्साहजनक रुपमा टिकट बिक्री भएको आयोजकहरुले जनाएका छन् ।
पछिल्लो समय तीब्र रुपमा नेपालीहरुको जनसँख्या बढिरहेको क्यानवेरामा हुने कन्र्सटका लागि अग्रिम रुपमा टिकट बिक्री भइसकेको स्थानीय आयोजकले जनाएको छ । राउण्ड हाउसले व्यवस्थापन गर्ने सिड्नी कन्र्सटका लागि प्रचारप्रसारलाई निकै चुस्त बनाईएको छ । सिड्नीको उच्च चाप रहने ट्रेन स्टेशन टाउनहल देखि सामाजिक सञ्जालमा यसको प्रचार छाइरहेको देखिन्छ । सिड्नीमा हुने कार्यक्रमका लागि १२ सय टिकट बिक्री भइसकेको आयोजकले दाबी गरेको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services