
सिड्नी । रुपन्देही सामाजिक सञ्जाल अस्ट्रेलियाले शनिबार आयोजना गरेको ‘तीज धमाका’ साँझमा चर्चित लोकदोहोरी गायक खुमन अधिकारी र गायिका शान्तिश्री परियारले दमदार प्रस्तुती दिएका छन् । दर्शक एवम् स्रोता माझ चर्चित गीतहरु मार्फत कलाकारद्धयले सिड्नीबासीलाई छमछमी नचाए । ‘बोलमायाँ’ बाट आफ्नो प्रस्तुती सुरु गरेकी गायिका शान्तिश्रीले ‘कुरा बुझ्नपर्च’, ‘लाउन दाजै पिरती’, ‘पछ्यौली’ लगायतका चर्चित गीतहरु गाउँदा दर्शकहरु मन खुलेर नाचे ।(भिडियोका लागि लिंकमा जानुहोस)
सिड्नीस्थित रक्डेलको इन्द्रेणी सेन्टरमा भएको धमाका साँझमा ‘हर हर महादेव’बाट आफ्नो प्रस्तुती सुरु गरेका गायक खुमनले ‘साँझ परेसी भेट्न आउँ है काली’ ‘पार्वती’ लगायतका चर्चित तीज भाकाहरु मार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरे । खुमनले प्रस्तुती दिइरहँदा महिला दिदिबहिनीहरु स्टेजमै पुगेर नाँच भ्याए । उनले महिलाहरुलाई मात्र नचाएनन् उपस्थिति विभिन्न संघसंस्था र प्रायोजकका प्रमुख तथा प्रतिनिधीलाई समेत नचाउन सफल भए ।

यसअघि, रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सिड्नीस्थित नेपालका लागि महावाणिज्यदुत दिपक खड्काले प्रवासमा कला, संस्कृति र परम्पराको जर्गेनासँगै सामाजिक कार्यको सुरुवात हुनु सकरात्मक भएको बताए । सञ्जालकी महासचिब रञ्जिता भण्डारीले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष पोखरेलले कार्यक्रम मार्फत नेपालका अनाथ, असहाय र फरक क्षमता भएका बालबालिकाको सहयोग गरिने बताए । ‘हामीले विगतदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छौँ, तपाँईले लिनुभएको हरेक टिकटको केहि हिस्सा हामीले सामाजिक क्षेत्रमा लगाउने छौँ’, उनले भने । कार्यक्रमलाई अजी फाइनान्स एण्ड होम्स् लोन र एक्सपर्ट एजुकेशन भिषा सर्भिसले मुख्य प्रायोजन गरेका छ । उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनआरएनएका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्यका संयोजक देव गुरुङ लगायत विभिन्न सामजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र स्थानीय कलाकारहरुको बाक्लो उपस्थिति थियो ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services