
सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए)अस्ट्रेलियाले अस्ट्रेलिया–नेपाल सिधा हवाई उडानका लागि थप पहल गर्न राजदुत कौलाशराज पोखरेल समक्ष आग्रह गरेका छन् । तीनहप्ता अघि कार्यभार सम्हाल्न अस्ट्रेलिया आएका राजदुत पोखरेलले मंगलबार क्यानवेरामा आयोजना गरेको भेटघाट कार्यक्रममा एनआरएनएका पदाधिकारीहरुले तत्काल सिधा हवाई उडान सुचारु भए देशको पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्नेमा जोड दिएका हुन् । एनआरएन अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले सिधा हवाई उडान नहुँदा अस्ट्रेलियाबाट नेपाल जाने नेपाली विद्यार्थी, अभिभावकका साथै अन्य पर्यटकहरु समस्यामा परेको बताए ।
‘सिड्नी विमानस्थलबाट मात्रै बार्षिक एकलाख ८ हजार नेपाली नेपाल गएका छन््’, उनले, ‘कुन तहमा कुरा गरेर हुन्छ, तत्काल पहल थाल्नुपर्यो ।’ सन् २०१९ सेप्टेम्बर ३० तारिखमा नेपाल–अष्ट्रेलिया सिधा उडानका लागि द्विपक्षीय हवाई उडान सम्झौता भएपनि अहिलेसम्म उडान हुन भने सकिरहेको छैन् । अन्तरसंवादमा एनआरएनएका पदाधिकारीहरुले उडानका अतिरिक्त भरखरै संसद्बाट पारित भएको नागरिकता विधेयक, क्यानवेरास्थित नेपाली दुतावासमा हुने ढिलासुस्तीले सेवाग्राहीमा परेको शास्ती र राहदानी वितरण प्रक्रियालाई छिटो बनाउन आग्रह गरेका थिए ।
राजदुत पोखरेलले हवाई उडानका छलफल अघि बढेको र विभिन्न एअरलाइन्स कम्पनीहरुसँग पनि समन्वय भइरहेको जानकारी गराएका थिए । ‘राहदानी वितरणलाई जतिसके छिटो अन्य राज्यहरुमा पनि पुर्याउने छौँ, दुतावासमा जनशक्ति थपको पहल पनि गर्नेछु’ राजदुत पोखरेलले भनेका थिए ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services