
सिड्नी । अष्ट्रेलियाका लागि नेपाली राजदुत कैलाशराज पोखरेलले अष्ट्रेलियाबाट घर पैसा पठाउँदा अनिवार्य रुपमा बैकिङ प्रणाली प्रयोग गर्न आग्रह गरेका छन् । अष्ट्रेलियामा नेपाली समुदायले नेपाल रकम पठाउँदा हुन्डीको प्रयोग बढी गरिरहेको गुनासालाई मध्यनजर गर्दै राजदुत पोखरेलले मातृभूमिलाई सम्झेर अनिवार्य रुपमा बैकिङ प्रणाली प्रयोग गर्न आग्रह गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत राजदुत पोखरलले सार्वजनिक अपिल गर्दै भनेका छन्, ‘यहाँहरू सबैजसोले मातृभूमिबाट विदेशी मुद्रा लिएर पढ्न आउनुभएको छ । यहाँ राम्रो गरिरहनुभएको छ । मुलुकमा अहिले विदेशी मुद्राको खाँचो पहिले भन्दा धेरै छ । यहाँहरूले दु:ख गरेर कमाउनु हुन्छ । आफुले पसिना बगाएर कमाएको विदेशी मुद्रा आफ्नो घर परिवारलाई पठाउँदा जसरी तपाईँहरू नेपालबाट आउँदा Banking channel प्रयोग गरी विदेशी मुद्रा ल्याउनुभयो, त्यसैगरी मातृभूमिलाई सम्झेर Banking channel मार्फत् नै नेपालमा रकम पठाउनुहुन विशेष अनुरोध गर्न चाहन्छु ।’ आफ्नो पासपोर्टको म्याद सकिने मितिबारे पूर्वसर्तक रहन आग्रह गर्दै राजदुत पोखरेलले, दुतावासमा रहेको जनशक्ति अभाव र प्रणालीगत सुधारमा काम गर्ने बताएका छन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services