
म्याग्दी : जिल्ला सदरमुकाम बेनीदेखि अन्तरजिल्ला र पालिका जोड्ने सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।
बर्सातका कारण पहिरो खसेर सडक अवरुद्ध हुँदा बेनीदेखि लामो तथा छोटो दूरीमा चल्ने यातायात सेवा प्रभावित बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। ट्राफिक कार्यालयका प्रमुख इन्द्रबहादुर नेपालीले बागलुङ–बेनीबाहेकका अन्य प्रमुख सडक अवरुद्ध बनेको बताए।
मालढुंगा–बेनी, बेनी–जोमसोम र बेनी–दरवाङ सडकको ठाउँ–ठाउँमा पहिरो खसेको छ। म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुंगा–बेनी सडकको विभिन्न ठाउँमा पहिरो खसेर गएरातिदेखि सवारी साधन चलेका छैनन्। मालढुंगा–बेनी सडक स्तरोन्नतिका लागि निर्माणाधीन अवस्थामा छ।
बेनीदेखि पोखरा, काठमाडौं आवतजावत गर्ने सवारीसाधनलाई बागलुङ–बेनीको वैकल्पिक सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जिल्लालाई जोड्ने बेनी–जोमसोम सडक जलेश्वर, बेगखोला, नैनीबगर र रुप्सेमा अवरुद्ध छ।
जलेश्वरमा पहिराले सडक कटान, बेगखोला र रुप्सेमा बाढी तथा नैनीबगरमा पहिरो खसेर अवरुद्ध बनेको हो। यसैगरी मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पनि घुमाउने भिर र बाङ्गेपहिरोमा अवरुद्ध बनेको छ।
दुवै ठाउँमा पहिरो खसेर यातायातका साधन आवतजावत गर्न नसक्ने अवस्था छ। बेनी–जोमसोम–कोरला सडक आयोजना, पूर्वाधार विकास कार्यालय, स्थानीय तह र सुरक्षा निकायले अवरुद्ध सडक खुलाउने प्रयास गरे पनि निरन्तरको पानीका कारण समस्या भएको छ।
शनिबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ। म्याग्दी, कालीगण्डकी, राहुघाट र अन्य सहायक नदीमा बाढीको सतह बढेको छ। सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले तटीय क्षेत्र तथा पहिरोको जोखिममा रहेका ठाउँका बासिन्दालाई अनुरोध गरेका छन्।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services