मेरिबेक सिटी काउन्सिल र भरतपुर महानगरबीच सहकार्य
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः10 months ago

सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलर्बनको मेरिबेक सिटी काउन्सिल र नेपालको चितवनस्थित भरतपुर महानगरबीच औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापना हुने भएको छ । मेलर्बनमा नेपाली समुदायको बाक्लो बशोवा रहेको ग्लेनरोय, फकनर, ओकपार्क जस्ता सबब समेत पर्ने मेरिबेक सिटी काउन्सिलको बोर्ड बैठकले चितवन महानगरसँग औपचारिक सम्बन्ध स्थापन गर्ने निर्णय गरेको भिक्टोरिया राज्यका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले जानकारी दिएका छन् ।

अब आगामी जुनमा भरतपुर महानगरकी मेयर रेनु दाहाल र मेरिबेक सिटी काउन्सिलकी मेयर हेलेन डेभिडसनबीच औपचारिक भेटघाट तय गरिएको छ । भेटअघि यी दुबै नगरबीच गर्न सकिने सहकार्य, सांस्कृतिक आदानप्रदानको खाका तयार गरिनेछ ।मेरिबेक सिटी काउन्सिलका मेयर हेलेन डेभिडसन, काउन्सिलरहरु तथा बोर्ड सदस्यहरुले काउन्सिलर क्रिस माईल्सद्वारा प्रस्तुत प्रस्तावलाई सर्वसम्मतले अनुमोदन गरेका थिए ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि नेपाली अवैतनिक वाणिज्यदूत गौलीका अनुसार यो ऐतिहासिक निर्णयले दुई देशबीचको ६ दशकभन्दा लामो कुटनीतिक सम्बन्धमा नयाँ आयाम थपेको छ ।“यो सम्पूर्ण नेपाली समूदायका लागि गर्व र प्रेरणाको क्षण हो । हाम्रो लामो समयको मेहनत, कुटनीतिक पहल र साझा उद्देश्यको परिणामस्वरुप अष्ट्रेलियामा पहिलो पटक कुनैपनि अष्ट्रेलियाको नगरले नेपाली महानगरसँग भगिनी सम्बन्ध स्थापना हुन लागेको हो । यो केवल सुरुवात हो, अब हामीसँग अझ धेरै सम्भावनाहरु छन्’, वाणिज्य दुतावासद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यो सम्बन्ध केवल औपचारिकता मात्र नभई दुई समुदायबीचको सांस्कृतिक आदानप्रदान, सामाजिक एकता, शिक्षा, पर्यटन तथा स्थानीय प्रशासनिक अभ्यासहरूको आदानप्रदानमार्फत दीर्घकालीन सहकार्य र साझेदारी निर्माण गर्ने प्रयास हो। मेरिबेक क्षेत्र, विशेषगरी ग्लेनरोय क्षेत्रमा उल्लेख्य नेपाली जनसंख्या रहेको तथ्यले यो सम्बन्धलाई थप अर्थपूर्ण बनाएको छ। ’

(Visited 44 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services