सिड्नीमा पारिजातको ८८ औं जन्मजयन्ती, ८ जनालाई अवार्ड प्रदान
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः12 months ago

सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले नेपाली साहित्यका नक्षत्र पारिजातको ८८ औं जन्मजयन्तीको अवसरमा विभिन्न विधामा अवार्ड प्रदान गरेको छ । शनिबार गुइल्डफोर्ड कम्युनिटी सेन्टरमा आयोजित विशेष समारोहका बीच साहित्य, पत्रकारिता र युवा अन्तरगत विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । जस अनुसार, साहित्यतर्फ नई पारिजात अवार्ड राम प्रसाद कोइरालालाई प्रदान गरिएको छ ।

उनलाई नगद पाँच सय अस्ट्रेलियन डलरसहित प्रमाणपत्रले सम्मानित गरिएको थियो । त्यस्तै, विशिष्ट सम्मान अन्तरगत नई पारिजात महिला पत्रकारिता अवार्ड मेलबर्नकी निरु त्रिपाठी र सिड्नीकी सीता रसाइलीलाई प्रदान गरिएको छ । त्यस्तै, १२ देखि २४ बर्ष उमेर समूहको नई युथ अफ दि इयर अवार्डमा साहित्य तर्फ नेपालका मोक्षदा अमगाइ, गीतसंगीततर्फ सन्देश पौडेल, नृत्यमा मेलर्बनकी गोरीमा रायमाझी र सिडनीका सीमोन श्रीपाली र खेलकुदमा सिड्नीकी मिया पुन र संस्थागतर्फ शष्दमाला स्कुल सिड्नीलाई प्रदान गरिएको आयोजकले जनाएको छ ।

नई एकेडेमी अस्ट्रेलियाकी संस्थापक एवम् अध्यक्ष सीमा रोशीको अध्यक्षतामा भएको कार्यक्रमा उपकुलपति एवम् नइ प्रकाश नेपालका संस्थापक इन्दिरा प्रसाइ, अन्तराष्ट्रिय जेसिजका पूर्व उपाध्यक्ष एवं नेपाल जेसिजको पूर्व अध्यक्ष, समाजसेवी एवं साहित्यकार अनुपमान सैंजु लगायतले नइ एकेडेमीले प्रवासबाट समेत नेपाली साहित्य र युवाहरुको क्षमता विकासमा योगदान पु¥याएको बताएका थिए । कार्यक्रममा, अनेसास अध्यक्ष, डा. प्रकास पौडेल, फेन्का डा. मधुसुधन पुडासैनी, शब्दमाला स्कुल सिड्नीका अध्यक्ष बिस्णु घिमीरे, रुपन्देही सामाजिक संञ्जालका संरक्षक मुक्ति पोखरेल लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष प्रज्ञा पनेरु तथा सचीव प्रान्जली खड्काले गरेका थिए ।

नई एकेडेमी अस्ट्रेलियाले सुरुवात देखिनै विभिन्न क्षेत्रमा विशेष योगदान गरेका नेपाली–अस्ट्रेलियाली र अन्तर्राष्ट्रिय व्यक्तिहरूलाई सम्मान गर्दै आईरहेको छ । जसमा कला, साहित्य, संगीत, खेलकुद, स्वास्थ्य, मानसिक स्वास्थ्य, घरेलु हिंसा प्रतिवन्ध, विज्ञान, प्रविधि र सामाजिक क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मान गर्ने गरिएको छ ।नेपाली वांगमयको श्रीवृद्धिका लागि नेपालमा स्थापित नई प्रकाशन अस्ट्रेलियामा नइ एकेडेमीको रुपमा सन् २०२२ डिसेम्बर १६ मा स्थापना भएको थियो । नइ एकेडेमी अस्ट्रेलियाका संस्थापक तथा अध्यक्ष सीमा रोशीले संस्था स्थापनाका लागि ५ हजार डलर योगदान गरेकोमा संस्थाले सम्मान समेत गरेको थियो ।

 

(Visited 331 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services