
सिड्नी । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले कुनैपनि बाद र व्यवस्थाको नाममा पत्रकार र सञ्चारमाध्यममाथिको आक्रमण स्वीकार्य नहुने बताएकी छन् । गत चैत्र १५ गते काठमाडौको तीनकुनेमा राजसंस्था पुर्नस्थापनाको मागसहित भएको आन्दोलनका क्रममा आफ्नो कर्तव्य निर्वाह गरिरहेका श्रमजीवी पत्रकारको जीउदै जलाएर हत्या गरेको र अन्य सञ्चारगृह माथि योजनाबद्ध रुपमा तोडफोड गरिएको प्रसँग उल्लेख गर्दै अध्यक्ष शर्माले प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण विरुद्ध महासंघ चरणबद्द आन्दोलनमा उत्रिएको समेत जानकारी दिएकी छन् ।
अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएशन (एन्जा)को आयोजनामा शुक्रबार सिड्नीमा आयोजित ‘स्वागत एवम् सम्मान’ कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले लोकतान्त्रिक शासन व्यवस्थामा मात्रै प्रेस र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी हुने बताइन् । ‘तीनकुने घटनामा जसरी पत्रकार, सञ्चारकर्मी र सञ्चारमाध्यमलाई लक्षित गरिएको छ’, उनले भनिन्, ‘त्यस विरुद्ध महासंघले सुरुवाती दिन देखि नै विरोध र आन्दोलनका कार्यक्रम गर्दै आएको छ, यो अझै पनि जारी छ ।’ प्रवासमा रहने पत्रकारहरुले कठिनाईपूर्ण परिस्थितिमा पनि समाजलाई सुसुचित गर्ने कार्य गरिरहेको भन्दै अध्यक्ष शर्माले समाज र देश पनि उनीहरुको कदर गर्न कन्जुस्याँई गर्न नहुनेमा जोड दिईन् ।

एञ्जा र नेपाल पत्रकार महासंघबीच विगत देखि सहकार्य हुदै आएको स्मरण गर्दै अध्यक्ष शर्माले भनिन्, ‘आगामी दिन पनि दुईपक्षीय सहकार्यलाई निरन्तरता दिनुपर्छ ।’ एञ्जाका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघकी अध्यक्ष शर्मा सहित, गोरखापत्र संस्थानका निमित्त प्रधानसम्पादक शिव भट्टराई, बोर्ड अफ डाइरेक्टर सचिन पोखरेल, देशान्तर पब्लिकेशनका अध्यक्ष केवी राणा, एभिन्यूज टेलिभिजनका कानुनी सल्लाहकार गणेश केसी, एञ्जाका संस्थापक अध्यक्ष हेमन्त काफ्ले, सल्लाहकारहरु डिल्ली आचार्य, डा. राजु मानन्धर, एञ्जाका कानुनी सल्लाहकार सम्शेरसिंङ थापा थापा लगायतले नेपाली पत्रकारिताको चुनौती, प्रवासमा गरिने समुदायिक पत्रकारिताको योगदान र उजागर गर्नुपर्ने विषयमा आफ्नो विचार व्यक्त गरेका थिए । एञ्जाका महासचिब गणेश भट्टको स्वागत र सचिब तक्दीर अधिकारीको सञ्चालन रहेको कार्यक्रममा महासंघका अध्यक्ष शर्मासहित नेपालबाट उपस्थित अग्रज पत्रकारहरुलाई सम्मानसँगै प्रशंसा पत्र प्रदान गरिएको थियो ।

© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services