
सिड्नी । काठमाडौं महानगरपालिका–२४ वडास्थित केशचन्द्र महाविहार, इतुंबहालका करिब ५५० वर्ष पुराना तीन थान चित्रकला (पौभाः) अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ। नेवाः गुथि न्यूयोर्कको पहलमा अमेरिका पुगेका तीन थान पौभाः र अन्य १७ थान मूर्ति आइतबार नेपाल ल्याइएको थियो। बिहबिार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले गुँला पर्वका बेला १५ दिनसम्म सार्वजनिक प्रदर्शनीमा राखिने ती पौभाःहरू २०३७ भदौ २९ गते महाविहार परिसरबाटै हराएको जानकारी दिए।
सांस्कृतिक तथा धार्मिक महत्वका यी पौभाः अब इतुंबहालमै पुनःस्थापना गरिनुपर्ने र यसका लागि राज्यबाट आवश्यक सुरक्षा प्रबन्ध र अन्य पूर्वाधार बनाइदिनु पर्ने संरक्षण समाजको माग रहेको पनि उनले बताए। काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले समुदायस्तरबाट पहल भई हराएका पुराना कलाकृति स्वदेश फर्काउन सकिएकामा खुसी व्यक्त गर्दै फिर्ता भएका ती सम्पदाको संरक्षणका लागि आफ्नातर्फबाट सहयोग गर्ने वचन दिइन्। नेवाः गुथि, न्यूयोर्कका अध्यक्ष विजयमान सिंहले हराएका नेपाली कलाकृतिबारे सम्बन्धित ठाउँमै गएर बुझ्ने काम भएको र लामो समयसम्म विभिन्न निकायसँग संवाद र समन्वय गरी स्वदेश फर्काउन सकिएको भन्दै यस अभियानमा संलग्न सबैलाई धन्यवाद दिए।
सोही अवसरमा संरक्षण समाजका तर्फबाट अध्यक्ष सिंहलाई सम्मानपत्र प्रदान गरिएको थियो। नेपालका तर्फबाट पत्राचार गरिएपछि अमेरिकाको एफबिआइले सुरूमा चासो राखेको भए पनि फिर्ता प्रक्रियाले गति नलिएपछि न्यूयोर्कको डिस्ट्रिक एटर्नीबाट प्रक्रिया अघि बढाउने काम भएको र यस अभियानलाई नेवाः गुथि, न्यूयोर्क, लस्ट आर्ट अफ नेपाल र नेपाल हेरिटेज रिकभरी क्याम्पेन जस्ता संस्थाले समेत सघाएका थिए। (साभार नेपाल प्रेस)
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services