सिड्नी । अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसिएशन (एञ्जा)को अध्यक्षमा कृष्ण तिवारी निर्वाचित भएका छन् । फेब्रअरी २१ र २२ अस्ट्रेलियाको राजधानी क्यानवेरामा सम्पन्न एञ्जाको तेस्रो अधिवेशनबाट तिवारीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो ।
अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष तथा सदस्यहरुमा निर्वाचन भएको थियो भने महासचिब, कोषाध्यक्ष र सचिब निर्विरोध चयन भएका थिए । ४३ जना मताधिकार सदस्य रहेको एञ्जाको निर्वाचन मतपरिणाम अनुसार, अध्यक्षमा तिवारीले २५ मत प्राप्त गर्दै विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी नारायण खड्काले १८ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षमा माधव प्रसाद गैरे २२ मत ल्याउदै विजयी भए । उपाध्यक्षका प्रत्यासीहरु प्रकाश हुमागाइले १९ मत ल्याए भने सिता कुमारी विश्वकर्माले २ मत प्राप्त गरेकी थिइन् । सदस्यहरुमा सरल गुरुङले ४०, विनायक अधिकारी ३४, गोपाल छन्त्याल ३३ र केदार रायमाझी २७ मत लिएर विजयी भएको निर्वाचन समिति जनाएको छ । त्यस्तै, महासचिबमा सर्वसम्मत रुपमा गणेश भट्ट, कोषाध्यक्षमा खगेन्द्र सत्याल र सचिबमा तक्दिर अधिकारी निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष तिवारीले निर्वाचन प्रक्रिया मार्फत नेतृत्वमा आएपनि सबै पक्षलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । ‘यो एउटा प्रजातान्त्रिक प्रक्रिया हो, हामी एकढिक्का भएर अघि बढ्नुपर्छ’, उनले भनेका छन्, ‘ प्रवासमा पत्रकारितालाई अझ मर्यादित बनाउनुपर्ने चुनौती पनि छ ।’ कार्यक्रममा, अस्ट्रेलियाका लागि नेपाली राजदुत चित्रालेखा यादब लगायतले अस्ट्रेलियाको संघीय सांसद्, एनआरएनएका पदाधिकारी तथा सामाजिक संघसंस्थाका पदाधिकारीहरुले शुभकामना व्यक्त गरेका थिए ।
सरल गुरुङलाई ‘स्वर्गीय टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार’
लामो समयदेखि अस्ट्रेलियामा पत्रकारिता गरिरहेका पत्रकार सरल गुरुङलाई स्वर्गीय टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । अस्ट्रेलियामा दशक बढी समय पत्रकारिता गरेका स्वर्गीय टिका कार्कीको सम्झनामा एञ्जाले सक्रिय पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । नेपाल ट्युबका सम्पादक गुरुङले अस्ट्रेलियामा रहेका नेपालीहरुको गतिविधी र कथाहरु निरन्तर रुपमा सम्प्रेषण गर्दै आएका छन् ।
नेपालमा रहँदा मुलधारको पत्रकारितामा सक्रिय सरल ब्रिसवेनमा बसेर पत्रकारिता गर्दै आएका छन् । पुरस्कार राशी एक हजार एक अस्ट्रेलियन डलर रहेको छ । एञ्जाले पुरस्कार सिफारिशका लागि लागि लेखिका एवम् सामाजिक अभियन्ता प्रतिज्ञा अधिकारीको संयोजकत्वमा रहेको तीन सदस्यीय समिति गठन गरेको थियो ।
(Visited 153 times, 80 visits today)