अमेरिकाबाट २० नेपाली डिपोर्ट
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 week ago

काठमाडौं । पछिल्लो २३ दिनको अवधिमा अमेरिकाले २० नेपालीलाई फर्काइदिएको छ ।डोनाल्ड ट्रम्पले अमेरिकाको सत्ता सम्हालेको दिन २० जनवरी (माघ ७ गते) देखि फेब्रुअरी ११ (माघ २९ गते)को बीचमा २० जना नेपालीहरु डिपोर्ट भएको अध्यागमन कार्यालयको तथ्यांक छ ।ट्रम्पले सत्ता सम्हालेकै दिन अवैध आप्रवासीहरुलाई स्वदेश फर्काउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा १ हजार ३६५ जना नेपालीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएको विवरण सार्वजनिक भएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता सिता परियारका अनुसार २० जनवरीदेखि ११ फेब्रुअरीको बीचमा १ महिला र १९ पुरुष गरी जम्मा २० जना नेपालीहरुलाई अमेरिकाले स्वदेश फर्काइसकेको छ । उनका अनुसार, अमेरिकाको अध्यागमन कार्यालयले पठाएको पत्रमा ‘विना भिसा’ यात्रा गरेको र ‘गलत नियत’का साथ बसोबास गरेकाले उनीहरुलाई फर्काइएको व्यहोरा उल्लेख छ ।ट्रम्पले आप्रवासीहरुमाथि कडाइ गर्ने नीति लिएका छन् । सोही नीति अनुसार अमेरिकाले १४ लाख आप्रवासीलाई देश निकाला गर्ने छ ।

अहिले विभिन्न देशका नागरिकहरुलाई विमान नै चढाएर फर्काइरहेको छ । भारत, मेक्सिको लगायत देशका नागरिकहरुलाई हत्कडीसमेत लगाएर फर्काइएका समाचार सार्वजनिक भएका थिए ।तर अहिलेसम्म नेपालीहरुलाई फर्काउने क्रममा अमानवीय व्यवहार भएको जानकारी नभएको अध्यागमन कार्यालयका अधिकारीहरु बताउँछन् । ‘अहिलेसम्म २० जना नेपालीहरुलाई अमेरिकाले फर्काएको छ र उनीहरु सामान्य तरिकाले, नियमित उडानका एयरलाइन्समार्फत् आएका छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता परियारले भनिन् ।

उनका अनुसार अहिले अमेरिकाबाट नेपालीहरु फर्किने क्रम विगतको तुलनामा बढेको छ । तर त्यसको कारण भने स्पष्ट नभइसकेको उनी बताउँछिन् ।अध्यागमन कार्यालयको रेकर्डमा डिपोर्ट भएका सबैभन्दा धेरै ६ जना नेपाली फेब्रुअरी ८ अर्थात् माघ २६ गते काठमाडौं ओर्लिएका छन् । यसैगरी फेब्रुअरी ६ मा २ जना तथा फेब्रुअरी ५ र १ मा ३/३ जना नेपाली स्वदेश फर्किएका छन् ।संगठित मानव तस्करको आडमा नेपालीहरु अवैध बाटोबाट अमेरिका जाने गरेका छन् । तर अवैध रुपमा अमेरिका पुग्ने नेपालीहरुको नेपालमा रेकर्ड छैन ।

अमेरिकाबाट डिपोर्ट हुने नेपालीको रेकर्ड भने अध्यागमन कार्यालयले राख्ने गरेको छ । ठगीमा परेकाहरुमध्येबाट उजुरी परेमा त्यस्ता उजुरीको आधारमा मानव बेचबेखिन अनुसन्धान ब्युरोले पनि रेकर्ड राख्ने गरेको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीहरुका अनुसार पछिल्लो केही दिनयता अमेरिकाबाट फर्किने नेपालीहरुको संख्या बढेको छ । तर आप्रवासीविरुद्ध ट्रम्प प्रशासनको कडा नीतिकै कारण नेपालीहरु फर्किने क्रम बढेको हो या त्यसमा अन्य कुनै कारण छ भन्ने नखुलेको उनीहरु बताउँछन् । (साभार अनलाइन खबर)

(Visited 70 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services