
सिड्नी । बाबा एजुकेशन कन्सल्टेन्सीले बलिउड सुपरस्टार एवम् भारतीय अभिनेता गोविन्दाको अष्ट्रेलिया भ्रमणको भिसा व्यवस्थापन आफ्नो संस्थामार्फत नभएको स्पष्ट पारेको छ । दुईहप्ताअघि अष्ट्रेलियाको सिड्नीमा सम्पन्न ‘लेट्स डान्स विथ सुपर स्टार गोबिन्दा’ कार्यक्रम मार्फत कन्सल्टेन्सीले अवैध तरीकाले मान्छे ओसार–प्रसार गरेको समाचार प्रकाशन/प्रशारण भएपछि कन्सल्टेन्सीले उक्त आरोपको खण्डन गरेको हो ।
एक प्रेस विज्ञप्ति जारी गर्दै कन्सल्टेन्सीले भनेको छ, –‘बाबा एजुकेशन भारतीय सिनेकर्मी गोबिन्दाको कार्यक्रमको मुख्य प्रायोजक मात्र रहेको र अन्य कुनै कार्यमा बाबाको कुनै पनि संलग्नता र आबद्धता नभएको जानकारी समेत गराउन चाहान्छौँ । हामीले यो कार्यक्रमको बहानामा मोटो रकम उठाएर असम्बन्धित व्यक्तिलाई अष्ट्रेलिया प्रवेश गराएको जस्तो कपोकल्पित र भ्रामक समाचार प्रकाशित गरेर केहि महिना अघि आएका अभिभावकहरुको नामसमेत जोडेर पीत पत्रकारिता नगर्न सम्बन्धित व्यक्ति र संस्थालाई अनुरोध गर्दछौं ।’
कन्सल्टेन्सीको बारेमा भ्रामक तथा कपोकल्पीत समाचार प्रकाशीत भएको भन्दै त्यस्ता विषयलाई प्रमाणित गर्न विज्ञप्तिमार्फत चुनौती दिएको छ । विज्ञप्तिमा थप भनिएको छ, ‘यदि कसैले हामीले गैरकानुनी काम गरेको प्रमाण देखाउन सक्छ भने हामी कानुन बमोजिम सजाय भोग्न तयार छौँ ।’कन्सल्टेन्सी माथि मानव तस्करको आरोप लागेपछि प्रबन्ध निर्देशक रविन्द्र कुमार शर्माले कार्यक्रमका आयोजक लाहुरे टिभीले मूख्य प्रायोजकका लागि आग्रह गरेको प्रस्ताबपत्र समेत सार्वजनिक गरेका छन् । ‘हामी उक्त कार्यक्रमको आयोजक होइन र भिषा प्रक्रिया पनि हामीले गरेका होइनौ । यसको आयोजक लाहुरी टिभी हो । मुल आयोजकलाई कतै केही उल्लेख नगरिकन लाखौँ डलर हाल्ने प्रायोजकलाई मात्र खेद्नु बाट पनि यो समाचार लेखको कुनियत स्पष्ट भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services