

सिड्नी । अस्ट्रेलियाका लागि नेपाली राजदुत चित्रालेखा यादबले अस्ट्रेलियामा रहेको कन्सुलर (वाणिज्य दुतावास) कार्यालयहरुलाई थप अधिकार प्रदान गर्नका लागि आफुले पहल गर्ने बताएकी छन् । धेरै नेपालीको जनसँख्या रहेको अस्ट्रेलियाको न्यू साउथ बेल्स राज्यको सिड्नी र भिक्टोरियाको मेलर्बनमा सरकारले बाणिज्य दुतावास स्थापना गरेको छ । वाणिज्य दुतावासबाट पासपोर्ट लगायत अन्य कार्यहरु हुदै आएपनि केहि बर्षदेखि भने पासपोर्टसँग सम्बन्धि महत्वपूर्ण कार्यहरु क्यानवेरास्थित नेपाली राजदुतावासबाटै हुने व्यवस्था गरिएको छ ।

जसका कारण सेवाग्राही मर्कामा परेको गुनासोपछि नवनियुक्त राजदुत यादबले आफु शक्ति पृथककीकरणको पक्षमा रहेको भन्दै त्यसका लागि इमान्दार भएर पहल गर्ने प्रतिबद्धता जनाएकी हुन् । सिड्नीबाट सञ्चालित नेपाल न्यूज अस्ट्रेलियाको ११ औँ बार्षिकोत्सबको अवसरमा शनिबार ग्रोनभिलमा आयोजित विशेष समारोहमा बोल्दै राजदुत यादबले भनिन्, ‘यो विषय म यहाँ आएदेखि नै उठिरहेको छ, म बाणिज्य दुतावासहरुलाई नै अधिकार दिनुपर्छ भन्ने विषयमा स्पष्ट छु । तर, यसको अन्तिम निर्णय भने परराष्ट्र मन्त्रालयले गर्नेछ ।’

राजदुत यादबले गैरआवासीय नेपालीहरुले नेपालको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरु एक महत्वपूर्ण साझेदार भएको समेत टिप्पण गरेकी थिइन् । नेपाल न्यूजका प्रधान सम्पादक माधव गैरेको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ पत्रकार एवम् बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतिक प्रधान, न्यू साउथ बेल्सका वाणिज्य दुत सञ्जीव शर्मा, नेपाली काँग्रेसका नेता बल बहादुर केसी, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदी लगायतले नेपाल न्यूजले अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई सूसुचित गर्दै सामुदायिक पत्रकारिताको मान्यता स्थापित गरेकोमा प्रशंसा गरेका थिए ।

प्रिन्ट भर्सनबाट सुरु भएको नेपाल न्यूजले पछिल्लो समय भने अनलाइन मार्फत समुदायलाई सूसुचित गर्दै आएको प्रधानसम्पादक गैरले जानकारी दिए । नेपाल न्यूजका प्रबन्ध सम्पादक हेमन्त काफ्लेले कार्यक्रमको बारे प्रकाश पारेको कार्यक्रमको स्वागत सम्पादक तथा एन्जा अस्ट्रेलियाका उपाध्यक्ष कृष्ण तिवारी र सञ्चालन पत्रकार चन्द काफ्लेले गरेका थिए । सो अवसरमा, पत्रिकालाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पु¥याउने समुदायका अगुवा, विज्ञापनदाता र सहयोगी संघसंस्थाहरुलाई कदर पत्र र नेपाली ढाका टोपीले सम्मान गरिएको थियो ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services