काठमाडौं । रंगहरू कसलाई मन नपर्ला ? त्यसमाथि एउटै रङमा रङ्गिएका घरहरूको लहरले कसलाई नलोभ्याउला ? काठमाडौं महानगरपालिका नम्बर वडा १० भित्रका कतिपय बस्ती अहिले त्यसैगरी लोभ्याउने बनिरहेका छन् । मध्यबानेश्वर, पुरानोबानेश्वर र थापागाउँका बस्तीभित्र प्रवेश गर्दा अहिले त्यस्तै देखिन्छ । सडक दायाँबायाँका प्रत्येक घरका पर्खालहरू रङ्ग्याइएका छन् । तर, एउटै होइन । टोलैपिच्छे फरक फरक रङ लगाइएका छन् ।
कतै हरियो, कतै गुलाबी, कतै रातो, कतै आकाशे, कतै निलो रंगहरूले बस्ती मनमोहक बनाएको छ । टोलका गल्लीदेखि सडक छोएका घरका पर्खालहरू रङ्ग्याइएका छन् । टोलका मुख्यसडक मात्रै होइनन्, भित्री स–साना गल्लीहरू पनि उसैगरी रङ्ग्याइएको छ ।यी सबै टोल काठमाडौं महामनगरपालिकाको मुख्य सहरी क्षेत्र भनेर चिनिने वडा नम्बर १० मा पर्छन् । वडा कार्यालयले नीति कार्यक्रममै पारेर बजेट विनियोजन गरेपछि करिब ६ महिनादेखि यी टोल यस्ता रङ्गिन देखिएका हुन् ।फरक–फरक रङले टोलको पहिचान अलग बनाएको छ भने बस्ती र सडक मनमोहक देखाउन पनि मद्दत गरेको छ ।
स्थानीय भन्छन् – ‘रङले चिनाउँदैछ टोल’
थापा गाउँका किराना पसले सुबोध सिंह भन्छन् ‘वडाले नै हाम्रो टोलसँग सुझाव मागेर रङ लगाउन थालेको हो । अहिले टोलहरू रङबाटै चिनिन्छन् ।’ सिंहले भनेजस्तै मध्यबानेश्वरको बाटो हुँदै अनामनगरसम्म निस्कने भित्री सडक र साना गल्लीहरूमा फिक्का हरियो रङ लगाइएको छ । उनले रङका कारण टोलको सरसफाइमा समेत बल पुगेको बताउँछन् ।
मध्यबानेश्वर क्षेत्रका बासिन्दा रजनीकुमारी महर्जन भन्छिन् ‘रङ लगाएकाले टोल नै सफा देखिएको छ । पहिले पहिले घरको पर्खालमा पनि पोस्टर टाँस्न आउँथे, अहिले टाँस्न पाइँदैन । परबाट हेर्दा पनि टोल चिनिने भएको छ ।’उनले आफ्नो घर क्षेत्रमा लगाएको रंगअनुसार टोलमा राम्रो काम लागि प्रतिस्पर्धा बढ्ने सुनाइन् । रङ लगाइएको मात्रै होइन, टोलबाट मुलबाटोमा निस्कने स्थानमा गेट पनि राखिएको उनले सुनाइन् ।
चालु आर्थिक वर्षको प्रारम्भमै १० नम्बर वडा कार्यालयले वार्षिक बजेट बनाउँदा ४० देखि ५० लाख रुपैयाँ, रङरोगनका लागि छुट्याएको थियो । त्यसपछि टोलबासीहरूसँग कुन रङ लगाउने भनेर सोध्ने काम गरिएको जनप्रतिनिधिहरू बताउँछन् ।वडासदस्य नरोज अर्याल भन्छन् ‘हामीले एउटा टोललाई कस्तो रंग लगाउने भनेर छलफल गरेर उपभोक्ता समिति गठन गर्छौं । टोलले छलफलपछि रङ कुन लगाउने भन्छ, त्यही लगाउन समितिमार्फत काम गर्छौं ।’ (साभार: अनलाइन खबर डटकम)
© 2023. All rights reserved. Designed By: HK Web Services