शिक्षिका अस्ट्रेलियामा, नेपालमा ३ लाख तलब निकासा
प्रकाशित मितिः2 weeks ago

सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ मा अवस्थित जनता माध्यमिक विद्यालय (प्राविधिक)मा कार्यरत एक शिक्षिका विदेशमा भएपनि उनको नाममा तलब निकासा भएको पाइएको छ । विद्यालयकी शिक्षिका बिमलाकुमारी झाको नाममा गैरकानुनी ढंगले तलब निकासा भएको भेटिएको हो ।शिक्षिका झा २०८१ जेठ १० देखि नै विद्यालयमा अनुपस्थित छिन् । छोरीकहाँ अस्ट्रेलिया गएकी उनी अझै फर्केर आएकी छैनन् । तर, उनको नाममा २०८१ असोजसम्मको तलब २ लाख ९६ हजार ३ सय ४५ रुपैयाँ ६३ पैसा निकासा भएको हो ।

यसमा विद्यालयदेखि नगरपालिकासम्मको संलग्नता देखिएको छ । शिक्षक कर्मचारीको तलब निकासाका लागि विद्यालयका प्रधानाध्यापकले हाजिरी प्रमाणित गरेर तलब माग फारममा हस्ताक्षर गर्नुपर्छ । त्यसपछि नगरपालिकाको शिक्षा शाखाले त्यसलाई रुजु गरेर सिफारिस दिन्छ ।

यसको आधारमा नगरपालिकाको लेखा शाखाले विद्यालयलाई तलब निकासा दिने गर्छ । तर, विद्यालयका प्रधानाध्यापक भरत साह भने भूलवश तलब निकासा भएको दाबी गरेका छन् । तलब निकासा गर्ने काम लेखा शाखाको हुने भन्दै उनी पन्छिए । यता, नगरपालिकाका शिक्षा शाखा प्रमुख सुवोध लामाका अनुसार गत भदौ ३० मा विद्यालयबाटै सिफारिस भएर तलब माग फारम थियो । त्यसकै आधारमा आफूले तलब निकासाका लागि स्वीकृति दिएको उनको भनाइ छ ।

विद्यालयका प्रधानाध्यापक र लेखालाई स्पष्टीकरण सोध्ने तयारी गरेको पनि उनले बताए । तर, यसलाई प्रकाशन नगरी गोप्य राखिदिन उनले आग्रह पनि गरेका छन् । ‘यसमा हाम्रो दोष छैन, उनीहरूको हो, उनले भने, ‘स्पष्टीकरण सोध्दैछौं, तर यसलाई प्रकाशित नगरिदिनुहोला ।’

यता, अस्ट्रेलियामा रहेकी शिक्षिका झाको बिदा पनि स्वीकृत नभएको पाइएको छ । विद्यालय, वडा र नगरपालिकाले बेतलबी बिदाका लागि सिफारिस दिए पनि जिल्ला शिक्षा समन्वय इकाई, सिरहाबाट स्वीकृत नभएको लामाले बताए । (इकान्तिपुर)

(Visited 35 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services