गैरआवासीय नेपालीलाई नागरिकतामा अधिकार थपौः महामन्त्री विश्वप्रकाश
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैर आवासीय नेपालीका सम्बन्धमा अध्यादेशमा उल्लेखित विषयमा आफ्नो विमत्ति रहेको बताउँदै सच्याउन माग गरेका छन् ।सरकारको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेशमा गैरआवासीय नेपालीलाई दश वर्षसम्म निःशुल्क भिसा उपलब्ध गराउने व्यवस्था छ ।

अध्यादेशमा ‘नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मुलको विदेशी नागरिक वा निजको परिवारलाई दश वर्षसम्मको गैरआवासीय भिसा निःशुल्क उपलब्ध गराइने’ उल्लेख गरिएको छ ।

गैर आवासीय नागरिकता प्रदान गरेर भिसा उपलब्ध गराउने विषय अनुचित हुने महामन्त्री शर्माले बताएका छन् । बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीका मन्त्रीसहितको बैठकमा शर्माले यसबारे प्रश्न उठाएका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार, नागरिकता प्रदान गर्ने संविधानको व्यवस्था अनुसार गैर आवासीय नेपालीले नागरिकता प्राप्त गर्ने हुँदा भिसा किन ? भन्दै उनले प्रश्न गरेका थिए ।

‘गैर आवासीय नेपालीले नागरिकताका लागि संविधानले व्यवस्था गरेको एउटा प्रकार अनुसारको नागरिकता लिने हुन् । नागरिकता प्राप्त गर्नेलाई किन भिसा दिनुपर्ने रु’, शर्माले बैठकमा बोलेको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘गैर आवासीय नागरिकता प्राप्त गरेको व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘तिमीलाई निःशुल्क भिसा छ’ भन्न मिल्दैन ।’

गैर आवासीय नेपालीका सन्दर्भमा गरिएको थप व्यवस्थामा ‘गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई एक पटकमा दुई वर्ष अवधिको बहुप्रवेश सुविधा सहितको आवासीय भिसा निशुल्क उपलब्ध गराइने’ प्रावधान राखिएको छ । गैर आवासीय नेपालीलाई संविधानको भाग २ को धारा १४ ले नागरिकता प्रदान गर्ने व्यवस्था गरेको छ ।

सरकारले कानुन सुधारका क्रममा राखेको उक्त व्यवस्थालाई गैर आवासीय नेपाली संघमा आवद्धहरूले समेत असन्तुष्टि व्यक्त गरेका छन् । गैर आवासीय नेपाली संघका उपाध्यक्ष हेमराज शर्माले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेपछि पनि पुनः भिसा लिनुपर्ने व्यवस्था संविधानको मर्म र एनआरएनएको अपेक्षासँग मेल नखाने सामाजिक सञ्जालमा लेखेका छन् ।गैर आवासीय नेपालीलाई सन्दर्भमा अध्यादेशमा राखिएको व्यवस्था संशोधन हुने बिहीबारको कांग्रेस बैठकमा सहभागी नेताहरू बताउँछन् ।

(Visited 39 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services