सिड्नी । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले शनिबार भव्य र उत्साहजनक रुपमा माघे संक्रान्ति पर्व मनाएका छन् । छन्त्यालहरुले आफ्नो पात्रो अनुसार नयाँ बर्ष (छारम्हेङ)का रुपमा समेत यो पर्व मनाउने परम्परा रहेको छ । सिड्नीको रक्डेलस्थित इन्द्रेणी फंसन सेन्टरमा आयोजित विशेष समारोहमा जातीय भेषभुषा, कला, संस्कृति र परम्परा झल्किने साँस्कृतिक प्रस्तुतीहरु सहित माघेसंक्रान्ति पर्व मनाएका हुन् ।
सिपिएका अध्यक्ष बुद्धिमान छन्त्यालको अध्यक्षतामा भएको कार्यक्रममा २ सय ५० भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष अनिल पोखरेलले जातिय एकतासँगै सिड्नीमा हुने हरेक क्रियाकलापमा छन्त्याल समुदायले देखाएको ऐक्यबद्धताको प्रशंसा गरेका थिए ।
त्यस्तै, नेपाली आदिबासी आदिबासी जनजाति मञ्च अस्ट्रेलियाका अध्यक्ष सुर्दशन थापामगर, जनजाति अगुवा एवम् तमु समाज सिड्नीका अध्यक्ष हिउपती गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए । सिपिएका सचिब कुमार छन्त्यालले सञ्चालन गरेको कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमका साथै कलाकारहरु जेनिसा छन्त्याल र दिल सुनारले आफ्नो साँगेतिक प्रस्तुती दिएका थिए ।
खेलाडीहरुलाई सम्मान
छारम्हेङकै अवसरमा सिपिएले राष्ट्रिय भलिबल खेलाडीहरुलाई सम्मान गरेको थियो । नेपाल महिला भलिबलकी कप्तान अरुणा शाही, स्पाइकर प्रतिभा माली त्यस्तै, पुरुष भलिबल खेलाडीहरु दिल सुनार, टेकराज अवस्थी लगायतलाई खाना ओढाएर सम्मान गरिएको थियो ।
के फरक पर्छ र ? बोलको म्युजिक भिडियो सार्वजनिक
लोक गायक भविन्द्र छन्त्यालको अर्को साँगेतिक कोसेली ‘के फरक पर्छ र ?’ बोलको गिति म्युजिक भिडियोको पनि सोही अवसरमै सार्वजनिक गरिएको छ । अस्ट्रेलियालाई कर्मथलो बनाएका छन्त्यालले झलक संगीतम् यूटुब च्यानल मार्फत म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । एनआरएनएका अध्यक्ष पोखरेल लगायतले उक्त भिडियोको प्रिमियर गरेका थिए । म्युजिक भिडियोमा भबिन्द्रलाई सुनिता बुढा क्षत्रीले स्वर दिएका छन् भने भ्लगर एवम् युटुबर डोना र चाहना मगरले अभिनय गरेका छन् ।
© 2023. All rights reserved. Designed By: HK Web Services