
सिड्नी । नेपाल महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई अस्ट्रेलियाको सिड्नीमा सम्मान गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले शनिबार खेलकुद मार्फत जिल्ला र जिल्लाबासीको शान बढाएको भन्दै सम्मान गरिएको हो ।
कप्तान अरुणा डिसेम्बर अन्तिम साता म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आयोजना गरेको एकदिवसीय महिला तथा पूरुष भलिबल च्याम्पियनशीप प्रतियोगितामा सहभागिता जनाउन अस्ट्रेलिया आएकी थिइन् । म्याग्दीको राखुमा जन्मेकी अरुणा विद्यालयस्तरीय प्रतियोगिता, जिल्ला र क्षेत्र हुदै राष्ट्रिय टोलीसम्म पुगेकी हुन् । पछिल्लो केहि बर्षयता महिला भबिलकी कप्तान समेत रहेकी अरुणाको कप्तानीमा नेपालले महिला भलिबलको इतिहासमा पहिलो पटक भारतलाई समेत पराजित गर्दै महत्वपूर्ण सफलताहरु हासिल गरिसकेको छ ।

कप्तान अरुणालाई मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापामगर, मोना भलिबल टोलीका पूर्व प्रशिक्षक विनोद केसी लगायतले मायाँ चिनो र खादाले सम्मान गरेका थिए । अध्यक्ष थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै कप्तान शाहीले प्रवासमा जिल्लाबासी र भबिलब प्रेमीहरुबाट पाएको सम्मान र मायाँले थप उर्जा मिल्ने बताएकी छन् । खेलाडीहरुले राम्रो गर्न सके विदेशमा रहेका नेपाली क्लब तथा सामाजिक संघसंस्थाहरुले पनि उच्च मुल्यांकन गर्ने भन्दै उनले भनिन्, ‘यस्तो परम्पराले नेपाली खेलकुदलाई नै फाइदा पु¥याउनेछ ।’
मोनाका उपाध्यक्ष लक्की श्रेष्ठले स्वागत गरेको कार्यक्रममा मोना भलिबलका प्रशिक्षक केसीलाई बिदाई गर्नुका साथै नवनियुक्त प्रशिक्षक गोपाल चोचाङगी मगरलाई स्वागत गरिएको थियो भने कार्यक्रमको सञ्चालन सचिब गोकुल भण्डारीले गरेका थिए ।

© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services