
सिड्नी । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औं राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।यस अवसरमा आज देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ । काठमाडौको पाटन दरबार क्षेत्रमा आयोजना हुने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुनेछन् ।
‘नेपाली टोपी ः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाहरुले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७० सालदेखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको संख्या पनि धेरै देखिने गरेको छ ।बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको संख्या बढ्न थालेको छ ।
नेपाली युवाले बिर्संदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ । औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन् ।’अंग्रेजी नयाँ वर्षलाई नेपालीपन दिनका लागि यसै दिनमा नेपाली टोपी दिवस मनाउन थालिएको यसका एक अभियन्ता रामजी बलामी बताउँछन् । यहिबीच अस्ट्रेलियाको एडिलेडमा पनि विशेष कार्यक्रम आयोजना गरिएको छ । प्रवासी नेपाली मञ्च, अस्ट्रेलियाले सम्मान, पदयात्रा सहित टोली दिवस मनाउन लागेको जनाएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services