सिड्नी । नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही, स्पाइकर सरस्वति चौधरी र प्रतिभा मालीले सिड्नीमा प्रतियोगिता खेल्ने भएकी छन् । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले डिसेम्बर २९ तारिख सिड्नीको अर्बन बास्केटबल सेन्टरमा आयोजना गरेको ८ औँ एकदिवसीय पुरुष तथा महिला भलिबल च्याम्पियनशीपमा महिला भलिबलको तीन सुपरस्टारहरुले खेल्ने भएका हुन् ।
प्रतियोगितामा कप्तान अरुणा आयोजक म्याग्दी जलजला परिवारबाट खेल्दै छिन् भने स्पाइकर सरस्वति र प्रतिभाले म्याग्दीकाली युनाइटेडबाट खेल्दै छिन् । प्रतियोगिताका लागि अरुणा दुईहप्ताअघि सिड्नी आइपुगेकी हुन् भने सरस्वति र प्रतिभा केहि समयदेखि सिड्नीमा रहेकी छन् । नेपालबाट खेल्दै थुप्रै अन्तराष्ट्रिय उपाधि जितिसकेका खेलाडीहरुले खेल्ने भएपछि सिड्नीमा रहेका भलिबल समर्थकहरु उत्साहित भएका छन् । त्यस्तै, पुरुषतर्फ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका पूर्वकप्तान मानबहादुर श्रेष्ठ, दिल सुनार, विशाल विक लगायतले खेल्ने तय भएको छ ।
प्रतियोगिताको सम्पूर्ण पूरा भएको आयोजक संस्थाका अध्यक्ष दिपेन्द्र भण्डारीले जानकारी दिए । ‘प्रतियोगिताको आन्तरिक तथा बाह्य तयारी पूरा भएको छ’, उनले भने, ‘आइतबार खेलमैदानमा उपस्थित भएर खेलको आनन्द लिइदिनुहोला ।’प्रतियोगितामा उपाधि जित्ने टोलीले पुरुष तर्फ तीन हजार १ सय, पाँच डलर नगदका साथमा ट्रफी र उपविजेताले १८ सय ५ डलर नगद र ट्रफी जित्नेछन् । त्यस्तै, महिला तर्फ विजेताले नगद १२ सय ५ डलरका साथमा ट्रफी र उपविजेताले ७ सय ५ डलरका साथमा ट्रफी हात पार्ने आयोजकले जनाएको छ । प्रतियोगिताको टाइटल स्पोन्सरमा स्टुडेण्ट भाइब्स रहेको छ ।
© 2023. All rights reserved. Designed By: HK Web Services