
सिड्नी । क्यानडा सरकारले विदेशी विद्यार्थीको सँख्या घटाउने रणनीति अनुसार, अहिले विभिन्न शैक्षिक विवरण माग्न थालेको छ । त्यहाँको अध्यागमन विभागले विदेशी विद्यार्थीसँग भिसा, अध्ययन अनुमतिपत्र, शैक्षिक रेकर्ड, अंकपत्र, हाजिरी लगायतका विवरण माग्दै धमाधम इमेल पठाउन थालेपछि विद्यार्थीहरु तनाबमा परेका छन् ।
क्यानडाका सञ्चारमाध्यमहरुका अनुसा, इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप विभाग (आईआरसीसी) ले विदेशी विद्यार्थीहरूलाई इमेल पठाउन थालेको छ । तीमध्ये धेरै विद्यार्थीको भिसा दुई वर्षसम्म मात्र मान्य छ। क्यानडा सरकारले विदेशी विद्यार्थीहरूका लागि एकपछि अर्को नियमहरू कडा पार्दै गएको सन्दर्भमा इमेल पठाएर कागजात माग्न थालेपछि विद्यार्थीहरुमा डिपोट हुने त्रास बढेको छ ।
क्यानडाको ब्रिटिश कोलम्बियामा अध्ययनरत एक विद्यार्थीले मे २०२६ सम्मको भिसा रहे पनि सबै कागजात पुनः पेश गर्न भनिएको भन्दै गुनासो गरेका छन् । उनका अनुसार आईआरसीसीले विद्यार्थीसँग हाजिरीको विवरण र पार्ट–टाइम कामका बारेमा पनि जानकारी मागेको छ ।
यहिबीच, शैक्षिक परामर्शदाताहरूले भने विद्यार्थीहरूलाई सम्भावित समस्याहरूबाट जोगिन आफ्ना कागजातहरू तत्काल पेश गर्न सल्लाह दिएका छन् ।उनीहरुले विद्यार्थीहरूलाई फिल्टर गर्न यो कदम उठाइएको हुन सक्ने भन्दै सरकारले विद्यार्थीहरुका लागि थप आर्थिक मापदण्ड र अन्य सीमाहरू निर्धारण गर्ने तयारी भइरहेको बताएका छन् ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services