सिड्नी । नेपाली मूलका विनोद पौडेलले अस्ट्रेलियाको प्रमुख विपक्षी दल लिबरल पार्टीको तर्फबाट संसदको उम्मेदवारी दिने भएका छन्। आगामी सन् २०२५ को निर्वाचनको लागि लिबरल पार्टीले न्यू साउथ वेल्स राज्यको मैकार्थर क्षेत्रबाट पौडेललाई उम्मेदवार बनाउन लागेको हो।
लिबरल पार्टीको तर्फबाट उम्मेदवार बनेर संघीय संसदमा पुग्ने अवसर पाउनेमा आफू विश्वस्त रहेको पौडेलले बताए।ुयसअघिको निर्वाचनमा पराजित भए पनि अहिले आशावादी छु। मेरो चिनजान बढेको छ भने पार्टीको माहोल पनि राम्रो छ। पहिला सत्ता पक्षमा भएर लडेका कारणले पनि पराजित भए होला। अहिले हामी प्रतिपक्षमा छौं,ु पौडेलले भने, ‘माहोल बुझ्दा र सर्वेक्षणहरू हेर्दा राम्रै होला जस्तो छ। चुनाव हो यसै भन्न सकिँदैन तर आशावादी छु।’
सत्तामा रहेको लेबर पार्टीतर्फ जनताको विश्वास घट्दै गएकाले यसपटक जित्ने अपेक्षा रहेको उनले बताए। आफ्नो अनुभवले पनि र बढ्दो चिनाजानले गर्दा जित्ने सम्भावना बढेको उनको दाबी छ। ‘मैले निर्वाचन क्षेत्रमा मेरो व्यक्तित्वबारे जनतालाई थप बुझाउन पाएको छु। त्यसैले पहिलाभन्दा अहिले जनमत सुध्रिएको छ। जति घुलमिल भयो उति मान्छे चिन्नेत हो नि’ उनले भने, ‘अर्को कुरा नेपाली भन्नसाथ मिहनती र परिश्रमी भन्ने छविसमेत छ। त्यसले पनि मलाई सजिलो हुन्छ ।’
चितवन मूल घर भएका पौडेल १८ वर्षअगाडि अस्ट्रेलिया गएका हुन्। होटल व्यवस्थापनको अध्ययन गरेका पौडेल आफ्नै व्यवसायमा सक्रिय छन्।नेपाली जहाँ रहे पनि आफ्नो कला र संस्कृतिलाई अगाडि बढाउने भन्दै उनले भोलिको पुस्तालाई अभिभावकविहीन हुन नदिनलाई समेत आफू राजनीतिमा सक्रिय रहेको बताए।
ु‘ग्लोबलाइजेसनले गर्दा संसार सानो भएको छ। जुन देशमा बसे पनि हाम्रो हेरिटेज नेपाल हो। नेपाली भएका कारण हामीलाई विश्वले हेर्ने नजर सकारात्मक छ,ु उनले भने, ‘अलिकति सकारात्मक र संयम भएर काम गर्यौं र जुन ठाउँमा छौं त्यो ठाउँलाई पनि माया गरेर अगाडि बढ्यौं भने हाम्रै सन्तानलाई सजिलो हुने हो। विरानो भूमिमा बच्चा जन्माएर अलपत्र पारेजस्तो नहोस् भन्ने हो।’
नेपालमा भएकाहरूको लागि भन्दा विदेशमा रहेका बच्चाहरूको लागि घर परिवार आफन्तबारे सिकाउन जरूरी रहेको उनले बताए। सन् २०२५ मा निर्वाचन हुने भए पनि निर्वाचनको दिन तय भइसकेको छैन। यद्यपि अस्ट्रेलियामा मतदान गर्नका लागि एक दिन मात्र भन्ने हुँदैन। तोकिएको समयभित्र प्रत्येक नागरिकले मतदान गर्नैपर्छ।
अस्ट्रेलियामा प्रत्येक नागरिकले अनिवार्य रूपमा मतदान गर्नैपर्ने प्रावधान छ। उचित कारण देखाउन नसके जरिवाना समेत हुन्छ। पौडेलले आफ्नो निर्वाचनको लागि तयारी सुरू गरिसकेका छन्।चुनाव प्रचारका लागि घरदैलोमा जाने, बस स्टप, रेलवेस्टप र सपिङ मलमा जाने, मान्छे भेट्ने आफ्नो उद्देश्य बताउने गरेको पनि उनले बताए। (साभार सेतोपाटी डटकम)
© 2023. All rights reserved. Designed By: HK Web Services