अस्ट्रेलियामा लोकप्रिय बन्दै थाली नाच
✍ हरिकृष्ण गौतम
प्रकाशित मितिः1 year ago

सिड्नी । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको आयोजनामा सिड्नीमा हालै सम्पन्न भएको ‘नेपाल फेस्टिभल–२०२४’ मा म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाकी दीक्षा गर्बुजाले लोपोन्मुख थाली नाच प्रदर्शन गरिन।

राष्ट्रिय झण्डा फहराउँदै सिड्नीको केन्द्र मानिने डार्लिङ हार्बरको प्रागंणमा भेला भएका हजारौं नेपाली माझ म्याग्दीको मौलिक पहिचान थाली नाच मुख्य आकर्षण बन्यो।मोना अस्ट्रेलियाको सक्रिय सहभागितामा आयोजित नेपाल फेस्टिभलमा गर्बुजाले हातमा जोडी थाल बोकेर नृत्य देखाउँदा सबैको ध्यान तानेको थियो।वि.स २०२८ सालमा चिमखोलामा हिरामायाँ पुन, लोक गायिका धनकुमारी थापा सहितको टोलीले पञ्चेबाजाको तालमा प्रस्तुत गरेको थाली नाचलाई सोही गाउँबाट दुई वर्ष अगाडी अस्ट्रेलिया आएकी गर्बुजाले चर्चामा ल्याएकी हुन्।

मोना महिला भलिबलकी क्याप्टेन समेत रहेकी गर्बुजाले हालसम्म सार्वजनिक सहित विभिन्न कार्यक्रम गरी १० स्थानमा थाली नाच प्रस्तुत गरेको बताइन्। ‘म्याग्दी जिल्लाको पहिचान हो, हामीले यसलाई अस्ट्रेलियामा पनि देखाउन सफल भएका छौ, आफ्नै गाउँबाट सुरु भएको नाच देखाउन पाउँदा निकै खुसी छु’ दीक्षाले भनिन्।

यसवर्ष नेपाल फेस्टिभल सहित दुई सार्वजनिक कार्यक्रममा प्रस्तुत गरेको थाली नाच व्यक्तिगत इभेन्टहरूमा भने थुप्रै पटक देखाउने अवसर पाएको गर्बुजाको भनाई छ।थाली नाचमा नृत्य प्रस्तुत गर्दा हातमा थाललाई एउटा जादुगरले सर्कसमा प्रस्तुत गर्ने कला भन्दा कमी नहुने भन्दै नेपाली र विदेशीले निकै प्रशंसा गर्ने गरेको गर्बुजाको अनुभव छ।दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुँदा थाली नाच रोचकपुर्ण हुन्छ। थाल भुईँमा खस्यो भने अशोभनीय मान्ने गरिएकाले नाच अवधिमा धेरै सावधानी अपनाउनुपर्छ।

दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुँदा थाली नाच रोचकपुर्ण हुन्छ। समुन्द्रपारी म्याग्दीको मौलिक नृत्यलाई प्रस्तुत गर्ने अवसर पाएको र यसलाई निरन्तरता दिने मोना अस्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगरले बताए। थाली नाचमा मौलिकता र आफ्नोपन झल्कने गरेकाले मोनाले आयोजना गर्ने कार्यक्रममा नियमित जस्तै प्रस्तुत गरिने उनले बताए।

यता एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले म्याग्देलीको सक्रियता सहितको नृत्य प्रस्तुतले फेस्टिभललाई अविस्मरणीय बनाएको बताए।नेपाली संघसंस्थाको प्रतिनिधित्व रहेको फेस्टिभलमा म्याग्दीबाट पञ्चेबाजा र थाली नाच सहित मगर समुदायको भेषभुषा, ढाकाटोपी, दौरा–सुरुवाल र साडीमा सजिएर म्याग्देलीले यसपटक फेस्टिभलमा आफ्नो पहिचान भल्काउन सफल भएका थिए। प्रवासमा रहेका म्याग्देलीकै कारण थालीनाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको छ। साभार नागरिक दैनिक

 

(Visited 32 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services