
काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द गरिने भएको छ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायत काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको हो ।विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म विमानस्थल बन्द हुने छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्ने गरेको छ ।
गर्मीयाममा काम गर्न नसकिने, त्यसैबेला वर्षा पनि हुने भएकाले अहिले कात्तिक महिनादेखि नै विमानस्थल स्तरोन्नतीको काम सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।इन्जिनियर अधिकारीका अनुसार रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउन लागिएको हो ।
प्राधिकरणका अनुसार तीन निर्माण व्यवसायीले धावनमार्गको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने, पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने, नयाँ एप्रोनसँग जोड्नेलगायत काम गर्नेछन् । विमानस्थलको गुरुयोजनाअनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक–फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन् ।त्रिभुवन विमानस्थलको एक मात्र धावनमार्गको दुवै बिन्दुमा भइरहेको निर्माण कार्यका कारण गत चैत १९ देखि बौद्धतर्फको उत्तरी बिन्दुबाट जहाज अवतरणमा निषेध गरिएको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services