सर्वसाधारणका लागि धराहरा खुल्ला
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

काठमाडौ । सरकारले संविधान दिवसको अवसर पारेर सर्वसाधारणका लागि धरहरा खुला गरेको छ। मन्त्रिपरिषदको बिहीबार साँझ बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर धरहरा सर्वसाधारणका लागि अस्थायी रूपमा खुला गर्ने निर्णय गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि २०७८ वैशाख ११ गते नै धरहराको उद्घाटन गरेका थिए। त्यति बेला धरहराको स्तम्भ निर्माण गरिसकिएको भए पनि भूमिगत पार्किङ लगायत संरचना बनाउन बाँकी थियो।२०७२ वैशाख १२ गतेको भूकम्पले धरहरा भत्किएको थियो। भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ। उक्त भग्नावशेषलाई सिसाले छोपेर सर्वसाधारणले देख्न सकिने गरी राख्ने सरकारको तयारी छ।

अहिले ४२।२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा भीमसेन थापाले ११ तले बनाएका थिए। ९० सालको भुइँचालोमा भत्केर उक्त धरहरा नौ तलामा सीमित भएको थियो। त्यसपछि नौ तला नै राखेर पुनर्निर्माण गरिएको थियो। अहिले बाहिरबाट देखिँदा ११ तले छ। भित्र भने २२ तला छ। जमिनमुनि तीनवटा तला बनाइएको छ।धरहराको वरपर विश्राम स्थलसहितको बगैंचा छ। ऐतिहासिक सुन्धारामा २४ सै घन्टा पानी आउने छ। परिसरमा संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना बनाउने तयारी छ।

(Visited 48 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services