
काठमाडौ । सरकारले अस्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता रिजालको राजदूत नियुक्ति प्रक्रिया रद्द गरेको छ । इजरायलका लागि पूर्वराजदूत रिजाललाई अस्ट्रेलियाका लागि नयाँ राजदूतमा सिफारिस गरेको थियो ।
तर उनले इजरायलमा राजदूत हुँदा लगेका दुई सहयोगीहरु भागेर त्यही बसेको विषयमा इजरायल सरकारले नेपाल सरकारसँग आपत्ति जनाएपछि मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयले राजदूत सिफारिस भइसकेकी रिजालको नियुक्ति प्रक्रिया रद्द गरेको हो ।‘परराष्ट्र मन्त्रालयबाट राजदूत सिफारिसको सूचीमा पठाउँदा रिजालको नाम थियो ।
मन्त्रिपरिषद्ले निर्णय गरेपछि सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि रिजाल राजदूतमा सिफारिस भएको जानकारी गराएका थिए,’ परराष्ट्रका एक अधिकारीले भने,‘त्यही बीचमा इजरायलबाट रिजालले लगेका दुई सहयोगीको विषयमा गुनासो आएपछि उहाँको पद रद्द भएको हो ।’अब सरकारले रिजालको स्थानमा नयाँ व्यक्तिलाई राजदूतमा सिफारिस गर्ने छ । मन्त्रिपरिषद्ले साउन १४ मा रिजालसहित विभिन्न १८ मुलुकमा राजदूत सिफारिस गरेको थियो । तर संसदीय सुनुवाईको नाम संसद् सचिवालयमा दर्ताको लागि पठाउँदा रिजालको नाम नभेटिएपछि त्यस विषयमा सोधखोज भइरहेको छ । (सभार इकान्तिपुर)
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services