
काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमका कप्तान मानबहादुर श्रेष्ठ अष्ट्रेलियामा रहेको फेवा एजुकेसन एण्ड माइग्रेसनको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् । सिड्नीमा अवस्थित फेवा माइग्रेसनले स्पाइकर मानबहादुरलाई दुई वर्षका लागि ब्रान्ड एम्बासडर नियुक्त गरेको निर्देशक योगेश श्रेष्ठले जानकारी दिए ।
अष्ट्रेलियाको प्रमुख शिक्षा र आप्रवासन परामर्श संस्थाको रुपमा फेवा एजुकेसन एण्ड माइग्रेसनले एक दशकभन्दा लामो समयदेखि काम गर्दै आएको छ ।
सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुर गत वर्ष साउनमा नेपालको कप्तान नियुक्त भएका थिए ।उनकै कप्तानीमा नेपालले गत वर्ष असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाड खेलेको थियो ।
त्यसअघि मानबहादुरले सन् २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियाड पनि खेलेका थिए ।यस्तै नेपालको पुरुष भलिबल टोलीले सन् २०१७ मा माल्दिभ्समा भएको सेन्ट्रल जोनमा तेस्रो हुँदै कास्य पदक जित्दा मानबहादुर टोलीको सदस्य थिए । त्यसबेला मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए ।मानबहादुरले घरेलु भलिबलमा त्रिभुवन आर्मी क्लबको समेत कप्तानी गरिसकेका छन् । साभार अनलाइन खबर
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services