भलिबलका कप्तान श्रेष्ठलाई सिड्नीमा सिपिएको सम्मान
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठलाई सिड्नीमा सम्मान गरिएको छ । छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले आइतबार च्याम्पियन खेलाडीहरुको सम्मानमा आयोजना गरेको बाविक्यु कार्यक्रमको अवसरमा कप्तान श्रेष्ठसहित राष्ट्रिय भलिबल टोलीका टेकराज अवस्थी र राजु शेरचनलाई सम्मान गरेको हो । कप्तान श्रेष्ठ गत जुन ३० मा मेलर्वनमा आयोजित सर्वाधिक धनराशीको ‘ग्लोबल मिट कप’ मा सहभागिता जनाउन अस्ट्रेलिया आएका थिए ।

म्याग्दीकाली युनाईटेडबाट खेल्दै श्रेष्ठले टोलीलाई च्याम्पियन बनाएका थिए । सिपिएका अध्यक्ष बुद्धिमान घरब्जा छन्त्याल, सिपिएका मुख्य प्रायोजक स्टेडेन्ट भाइब्सका प्रबन्ध निर्देशक बद्री बरुवाल लगायतले प्रशंसा पत्र र खादा ओढाएर सम्मान गरिएको थियो । सम्मानपछि बोल्दै कप्तान श्रेष्ठले सिड्नीमा पाएको न्याय आतिथ्यले हौसला मिलेको बताए । ‘ब्यस्त समयका बाबजुद पनि यहाँ भलिबलको क्रेज धेरै राम्रो पाएँ’, उनले भने ।

               च्याम्पियन खेलाडीहरुलाई सम्मान
सिपिएले सिड्नी र मेलर्वनमा सम्पन्न विभिन्न प्रतियोगितामा च्याम्पियन बनेका आफ्ना खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरुलाई पनि सम्मान गरेको छ । केहि समयअघि सिड्नीमा मोना अस्ट्रेलियाले आयोजना गरेको एकदिने भलिबल टुर्नामेन्टमा सिपिए च्याम्पियन बनेको थियो । मेलर्वनमा आयोजित ‘ग्लोबल मिट कप २०२४’मा खुल्लातर्फ उपविजेता र ३५ बर्ष भन्दा माथि भेट्रानतर्फ च्याम्पियन बनेको थियो ।

 

दुबै प्रतियोगिता खेल्ने खेलाडीहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो । अस्ट्रेलियाको विभिन्न प्रतियोगितामा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको सिपिएले भलिबलमा विशेष पहिचान बनाउन सफल भएको छ । सिपिएले भलिबलका अतिरिक्त अन्य विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ । सिपिएका अध्यक्ष बुद्धिमान छन्त्याल अध्यक्षता र निर्वमान अध्यक्ष पदम छन्त्यालले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रमका सिपिएका एक सय भन्दा बढी सदस्यहरुको सहभागिता थियो ।


                    स्टुडेन्ड भाइब्सले थप एक बर्ष प्रायोजन गर्ने
सिपिएलाई मुख्य प्रायोजन गर्दै आएको स्टुडेण्ड भाइब्सले आफ्नो सहकार्यलाई एक बर्ष थप गर्ने घोषणा गरेको छ । खेलाडी सम्मान समारोहमा बोल्दै भाइब्सका प्रबन्ध निर्देश बद्री बरुवालले सन् २०२५ सम्म प्रायोजन गर्ने घोषणा गरेका हुन् ।

‘सिपिएको एकताबाट हामीले चाहे जस्तै नतिजा पनि आइरहेको छ’, उनले भने, ‘ समुदायसँग जोडिने यो एकदमै राम्रो माध्यम बनेको छ, हामी यो सम्बन्धलाई निरन्तर बनाउन चाहान्छौँ ।’ सिड्नीको टाउन हलमा केन्द्रिय कार्यालय रहेको भाइब्सले विद्यार्थी भिषा सम्बन्धि सबै प्रकारका काम, माइग्रेशन देखि ट्याक्स रिर्टन सम्बन्धि सेवा प्रदान गर्दै आएको छ । भाइब्सले नेपालमा काठमाडौँ र पोखरा शाखाबाट समेत काम गर्दै आएको छ ।

(Visited 156 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services