विशालले ‘सिड्नी भलिबल लिग’ खेल्ने
✍ दिल तामाङ
प्रकाशित मितिः2 years ago

सिड्नी । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य विशाल बहादुर बिकले अस्ट्रेलियाको सिड्नी भलिबल लिग (एसभिएल) खेल्ने भएका छन् ।ओपन स्पाइकर विशाल प्रो भलिबल एकेडेमीमा आबद्ध भएका छन् । यससँगै विशाल एसभिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनी दक्षिण एसियाली मुलुक भन्दा बाहिरका देशबाट खेल्ने दोस्रो नेपाली पुरुष खेलाडी हुनेछन् । यसअघि दुर्ज कुमार राईले जर्मनीमा व्यवसायिक लिग खेलेका थिए ।

दुर्ज कुमारले सन् १९८२ को एसियन गेम्सपछि तत्कालिन पश्चिम जर्मनीमा गएर युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका थिए । तत्कालिन पश्चिम जर्मनीका ओलम्पिक प्रशिक्षक माइकल ग्रेगरीले झन्डै दुई महिना नेपालमा प्रशिक्षण दिएर उनलाई छनोट गरेका थिए ।महिलातर्फ भने कोपिला उप्रेती, निमा श्रेष्ठ, मन्जु गुरुङ, अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, उषा भण्डारी र कामना विष्टले माल्दिभ्सको लिग तथा च्याम्पियनसिप खेलिसकेका छन् । दक्षिण एसियाली मुलुकका क्लबबाट नेपाली पुरुष खेलाडी इम राना, कुलबहादुर थापा, मानबहादुर श्रेष्ठ, हरि हजुर थापालगायतले खेलिसकेका छन् ।

यस्तै सरस्वती चौधरीले जापानमा तथा प्रतिभा र अरुणाले नेदरल्यान्ड्समा प्रशिक्षणको मौकासमेत पाएका छन् । विशालले घरेलु भलिबलमा विभागीय नेपाल पुलिस क्लबबाट खेल्ने गरेका थिए । उनी पछिल्लो ६ महिनायता अस्ट्रेलियामा रहेका छन् ।लिग आइतबारदेखि शुरु हुँदैछ । विशाल आबद्ध प्रो भलिबल एकेडेमीले युएनएसडब्लु भलिबल क्लबसँग खेल्दै लिगको शुरुवात गर्नेछ । त्यसपछि दोसो खेलमा युटिएस भलिबल एकेडेमी र तेस्रो खेलमा जस्ट स्पाइक इट भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।यस प्रो भलिबल एकेडेमीको सिनियर पुरुष टोली, सिनियस महिला टोली, डिभिजन ४, ३, २, १ टोलीसँगै यू–१४, यू–१६, यू–१८ टोली रहेका छन् ।प्रो भलिबल एकेडेमीमा इटालियन र चिनिया मुलका खेलाडीहरु रहेका छन् ।

सिड्नीमा हुने यो लिग करिव तीन महिना चल्नेछ । लिगमा सिड्नीका १२ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।एसभिएल र युथ सिड्नी भलिबल लिग ९वाईएसभिएल० न्यु साउथ वेल्सको मुख्य इन्डोर भलिबल प्रतियोगिता हो । लिग मे देखि जुलाईसम्म हरेक साताको आइतबार सिड्नीस्थित सिड्नी ओलम्पिक पार्कमा हुने गर्दछ । (साभारः हाम्रो खेलकुद)

(Visited 34 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services