नयाँ बर्ष २०८१ को आगमनः सिड्नीको त्यो फायरवक्स
✍ कुलप्रसाद नेपाल
प्रकाशित मितिः8 months ago

धार्मिक आस्थाले ओतप्रोत भएका संसारभरका मानव जाति विभिन्न तवरबाट भगवानको भक्ति गर्छन् । कोही घरमै पूजाअर्चना गर्छन् त कोही मन्दिर, मस्जिद, चर्च आदिमा धार्मिक स्थलको दर्शन गर्न जान्छन् वा तीर्र्थाटनमा निस्कन्छन् । विश्वभर सांस्कृतिक आस्था र परम्पराका आधारमा विभिन्न पर्व तथा उत्सव मनाउने गरिन्छ । मेला, महोत्सवहरु आयोजना हुन्छन् । यस्तै कामहरूबाट मानिसहरूले भौतिक र आध्यात्मिक आनन्द लिन्छन् । भरपुर मनोरञ्जन प्राप्त गर्छन् र आफूलाई तरोताजा, सुरम्य र आल्हादित तुल्याउँछन् ।

यस्तै परम्पराअन्तर्गत मानिसले आआफ्ना नयाँ वर्ष पनि फरक फरक तवरबाट मनाउने गरेका छन् । नेपालमा बाहुन-क्षेत्रीलगायतका आर्यहरुले प्रत्येक वर्षको वैशाख १ गते तलाउ, जलाशय, नदीहरूमा गएर तथा नसकेकाहरूले घरमै स्नान गरी पूजाअर्चना गर्छन्, दान(दक्षिणा दिन्छन् । मंगोलहरू (मगर तामाङ, राई, लिम्बू, नेवार, थारूलगायतले आआफ्नै तिथिमितिमा नव वर्ष मनाउँछन् । तर, विश्वका अधिकांश देशहरूले ईश्वी संवत्को जनवरी १ लाई नव वर्षको रूपमा मान्ने गरेका छन् ।

नव वर्ष मनाउने क्रममा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागतमा डिसेम्बरको अन्तिम रातको १२ बजे विशेष कार्यक्रमको आयोजना गरिन्छ । कार्यक्रमको प्रकृति देश विशेषका फरक फरक छन् । तीमध्ये धेरैजसो देशहरूमा रंगीबिरंगी प्रकाशपुञ्जले धर्ती र आकाशलाई झल्झलाकार पारेर मनाउने परम्परा छ ।यसरी नयाँ वर्ष मनाउने क्रम सबैभन्दा प्रथम इराकको बेबिलोनिया शहरबाट शुरू भएको पाइन्छ । त्यतिबेलाको बेबिलोन निकै विकसित र सुसंस्कृत थियो । न्यूयोर्कको टाइम्स स्क्वायर, पेरिसको आइफेल टावर, लण्डनको लण्डन आई, दुबहीको वुर्ज खलिफा र अस्ट्रेलिया सिड्नी शहरको हार्बर ब्रिज विशेष उल्लेखनीय छन् । यी ठाउँहरूमा दशौं हजार मानिस जुटेर प्रकाशले झिलीमिली पारेर फायरवर्क गर्छन् । फायरवर्क हेर्न विभिन्न देशका पर्यटकसमेत यी स्थानमा आउँदा रहेछन् ।

सन् २०२३ को बिदाइ र २०२४ को आगनको खुशीयालीमा मनाइने फायरवर्क हेर्न म पनि सिड्नी शहरमै भएकाले अवसर मिल्यो । सिड्नीमा भएका मेरा परिवार र नाता सम्बन्धहरू ३० जनाको समूह जुट्यो । हामीले हार्बर ब्रिजको कोणमा रहेको विशाल चौरमा प्रवेश पायौं । आयोजक छोरा, भतिज, भाञ्जाहरूले केही दिनअघि नै टिकट लिएका र गाडी पार्किङको व्यवस्था पनि गरिसकेकाले खास समस्या भएन । ९ बजे शुरु भएर १२ः३० मा सकिने उक्त फायरवर्क हेर्न ७ बजे निर्धारित स्थलमा पुग्यौं । हामीले ५(६ घण्टाको लागि चाहिने खानपिनको सामग्री, चौरमा बस्न दरी र बढी उमेर पुगेकालाई फोल्डिङ कुर्सीसमेतको व्यवस्था गरेर गएका थियौं ।

कार्यक्रम शुरु हुन २ घण्टाअघि नै पुग्नुको कारण चौरको अग्रभागमा सीट सुरक्षित गर्नु थियो । ५ः३० बजे प्रवेश खुला गरियो । सुरक्षाकर्मी र स्वयंसेवकहरुको बाक्लै उपस्थिति थियो । कडा सुरक्षा जाँचपछि हामी भित्र गयौं । हातमा बाँधिएको सुरक्षा डोरीमा १८ वर्ष पुगेकालाई अल्कोहल प्रयोग गर्न मिल्ने र त्योभन्दा मुनिकालाई कडाइका साथ निषेध रहेछ । अरु देशले के कस्तो प्रबन्ध गरेका छन् थाहा भएन, यहाँ सम्बन्धित काउन्सिल र नगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिँदोरहेछ । मनासिव माफिकको शुल्क तिरेरमात्र प्रवेश पाइँदोरहेछ । हामी प्रवेश गरेको विशाल चौरमा लगभग १० हजार जति दर्शक थिए । सबैतिर गरेर १० लाख दर्शकलाई सजिलै बस्न मिल्ने व्यवस्था रहेको कुरा एक जना अस्ट्रेलियली पत्रकारले बताउनुभयो ।

८ बजेतिर झमक्क साँझ पर्‍यो । तबसम्म उक्त चौर टनाटन भरिइसकेको थियो । दर्शकहरु आआफ्नो दरी र कुर्सीमा बसिसकेका थिए । दायाँ र बायाँ, थोरै ठाउँ छोडेर यसरी दरी छुट्याइएका थिए कि अगाडि बसेकाहरू पछाडि रहेको शौचालय जान, पानी पिउन जान र काउन्सिलको अनुमतिले उक्त पार्कभित्र खोलिएका खानपिनका दुकानसम्म आउजाउ गर्न कुनै अवरोध थिएन । एक(अर्को दर्शकलाई आउजाउ गर्न उक्त विशिष्ट दृश्य हेर्न बाधा नपुर्‍याउन सबैमा उच्च सतर्कता देखियो । हामी सुरक्षाको निम्ति लगाइएको सबैभन्दा अगाडि रहेको फलामको बारसँग करिब सटेर बसेका थियौं ।

एक जना चिटिक्क परेकी सुन्दरी गौराङ्गना युवती हामी भएछेउ आइन् । उनी निकै पछाडि बसिरहेकी रहिछन् र उनले पत्रकारिता गर्दिरहिछन् । करिब १५ मिनेटसम्म स्ट्याण्डसहितको ठूलो क्यामेराले छायांकन गर्नुरहेछ । उनले हाम्रै छेउमा तर हामीलाई खास बाधा नपर्ने गरी क्यामरा राख्न अत्यन्त विनम्र भएर अनुमति मागिन् । हामीलाई सहजै स्वीकार गर्‍यौं । पछि उनले हामीलाई धन्यवाद दिएर आफ्नो काम सकेर गइन् ।

रातको ९ बजे कास्टिङ दृश्यावलोकन गराइँदोरहेछ । हार्बर ब्रिजलाई चम्किलो नीलो रंगले आकृत गरियो । बृज निकै नीलाकारको निकै आकर्षक देखियो । केही समयपछि नीलो रंगलाई रातो रंगले विस्थापित गरियो । त्यसलाई पनि केही समयपछि हराएर इन्द्रेणी रंग धपक्क पारियो । ठूलो आवाज विस्फोट गराइयो र विस्फोटनपछि सात वटै रंगले बृज वरिपरि र माथि झल्झलाकार प्रकाशपुञ्ज प्रक्षेपण गरियो । करिब १५ मिनेटसम्म यो क्रम जारी रह्यो । उक्त दृश्य निकै चित्ताकर्षक र मनमोहक थियो । ठीक १२ बजे यसै क्रमलाई सविस्तार पौने घण्टासम्म दोहोर्‍याइयो ।

पृथ्वी र आकाश झलमल्ल पारी त्यो विशाल चौरमा छरिएर बसेको त्यति ठूलो जनसमुदायले वेलावेलामा रमाएका आवाज निकाल्नु सिवाय अरू अनावश्यक होहल्ला केही थिएन । कोही उठ्ने, चल्मलाउने गरेको पनि देखिएन । वातावरण निकै रोमाञ्चकारी थियो । विभिन्न उमेर समूहका सयौं जोडी आलिङ्गन र चुम्बनमा रमाएका थिए । सायद रमको रमरमले उनीहरु बढी नै मदहोस थिए । वास्तवमा त्यो मध्यरात निकै जाज्वल्यमान थियो । संस्कृतका प्रसिद्ध कवि भारद्वाजले भनेका छन्, ‘क्षणे क्षणे यन्नवतामुपैति तदेव रूपम् रमणयिताया’ । अर्थात, ‘क्षण(क्षणमा देखिने नयाँपन नै रमाइलोको वास्तविक स्वरूप हो ।’ कविले भने जस्तै रमाइलोको अनुभूति हामीलाई भइरहेको थियो ।

यी देशहरूमा रात्रिकालीन यस्ता भव्य उत्सवलाई कसरी दर्शकमैत्री बनाएर व्यवस्थित गरिन्छ रु यो पाटोमा विश्लेषण नगर्ने हो भने यो आलेखले सायद पूर्णता पाउँदैन भन्ने लागेर व्यवस्थापकीय पक्षमाथि प्रकाश पार्ने जमर्को गरेको छु । ५ घण्टा बसाइको क्रममा ८ः३० बजे र ११ः३० बजे पिसाब गर्न त्यहाँको शौचालयमा गएँ । एक(दुई शौचालय पक्की थिए । ती पार्क घुम्न दिनहुँ आउनेहरुका लागि स्थायी हुन् भन्ने बुझिन्थ्यो । तर, त्यस दिन पुरुष, महिला र अपाङ्गहरुका लागि बेग्लाबेग्लै व्यवस्था गरिएका करिब ५० वटा अस्थायी शौचालय थिए । शौचालय सफासुग्घर र पानीको सुविधायुक्त थिए नै । शौचालयको सरसफाइलाई व्यवस्थित गर्न आवश्यक संख्यामा स्वयंसेवक खटिएका थिए । म ३ घण्टापछि ११ः३० मा जाँदा पनि शौचालय उस्तै सफासुग्घर थियो । सफाइप्रतिको सजगता र वैज्ञानिक व्यवस्थापन देखेर म दङ्ग परें ।

पचासौं मानिसले एकै पटकमा पानी पिउन सक्ने गरी खानेपानीको व्यवस्था थियो । खाना, नास्ता र पेयपदार्थ सहजै किन्न सक्ने गरी नगरपालिकाबाट अनुमति प्राप्त पर्याप्त स्टल थिए । हामीले पाँच घन्टा लामो बसाइको क्रममा दुई पटक खानपिन गर्‍यौं । खाना खाएर सादा खाना लगेको भाँडो, पेपर प्लेट, पेपर ग्लास, पानी र मदिराजन्य केही वोटल असरल्ल परेका थिए । हाम्रा युवा संयोजकले दुवै पटक फोहोरको एउटा टुक्रा पनि नदेखिने गरी सफा र सिनित्त पारेर बिनमा राखिदिए ।

हामीले दरी ओछ्याउँदा चौर जति सफा थियो, अलिकति माडिएकोबाहेक अन्त्यसम्म शुरुकै अवस्थामा रहेको थियो । हामी अगाडि बसेकाले पछाडि सबैजसो स्थान हेर्‍यौं । चौर पूरै सफा थियो । सुरक्षा व्यवस्थाबाहेक अरु सबै कुराको जिम्मा सम्बन्धित नगरपालिकाले लिएको बुझिन्थ्यो । सरकार, स्थानीय निकाय र नागरिकको समन्वयमा सबै कुरा व्यवस्थित गरिएको दृश्य हेर्दा मलाई हाम्रो देश सम्झेर ग्लानी महसुस भयो । त्यसो त यस्तै ग्लानी मलाई २०२१ नोभेम्बरमा लण्डनको फुटपाथमा र २०२३ को नोभेम्बरमा सिड्नीको पार्क घुम्न जाँदा पनि भएको थियो ।

लण्डनमा म मेरो घरमा मर्निङ वाकमा फुटपाथमा निस्कँदा पल्लो किनारको फुटपाथमा अजङ्गको कुकुर डोर्‍याउँदै करिब ८०(८५ वर्षका बुढो मानिस हिँडिरहेका थिए । कुकुरले दिसा गर्‍यो । यहाँ पनि त हाम्रो देशमा झैं बाटोमा घरको अगाडि दिसा गराउँदा रहेछन् । रोकिएर हेरें । बुढा मानिसले एउटा हातले डोरी समाते, अर्को हातले जकेटबाट प्लास्टिक झिकेर दिसा सोहरेर लिएर हिँडे उपयुक्त बिनको खोजीमा । त्यस्तै दृश्य सिङ्नी पार्कमा पनि देखें । काठमाडौंमा मेरो घर अगाडि बिहानपख कसले कुकुरलाई ल्याएर दिसा गराउँछ थाहा छैन । तर, पचासौं पटक बेल्चाले सोहोरेको छु । मैले कक्षा ९ मा नागरिकशास्त्र पढ्नुपर्थ्यो । प्रध्यापकले वारम्बार भन्ने गर्नुहुन्थ्यो, देश विकसित, सभ्य र सुसंस्कृत हुन् सरकार र अन्य निकायहरूले गरेर मात्र हुँदैन, नागरिकमा नागरिक सचेतना चाहिन्छ । मैले पाठ सम्झें, गुरुलाई सम्झें ।

हाम्रा पर्व र उत्सवहरूलाई गौरवपूर्ण, भव्य र सुसंस्कृत बनाउन चाह्यौं भने हामी पनि अवश्य सक्छौं । आआफ्ना पर्वहरुलाई ग्लोरीफाइ गर्नु हाम्रो कर्तव्य पनि हो । यसका लागि हामीसँग सकारात्मक सोच, प्रतिबद्धता र व्यवस्थापनका निम्ति थोरै र अत्यावश्यक स्रोत र साधन भए पुग्छ । हामी नेपालीहरू २०८० साललाई बिदा गरेर २०८१ सालमा प्रवेश गर्दैछौं । हामीसँग राजधानीको धरहरा छ र भुईंं मान्छेहरूको विकासलाई बेवास्ता गर्दै फेसनकै रूपमा देशभर बनाइएका सयौं भ्यूटावर छन् । हामीले पनि ती ठाउँहरूलाई प्रकाशपुञ्जले झकिझकाउ पारेर उज्यालो र संगीतमय वातावरणमा २०८० लाई बिदाइ र २०८१ लाई स्वागत गरे कसो होला रु विदेशका सबै कुरा अनुशरण गर्नैपर्छ भन्ने मेरो मान्यता होइन । तर, आफ्नो परम्परा र संस्कृतिलाई बढावा दिने सन्दर्भमा अन्य देशका राम्रा अभ्यास र अनुभवहरुबाट सिक्नु गलत किमार्थ हुनेछैन ।

(Visited 74 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services