अर्बन अर्थात ‘नेपाली इपिसेन्टर’
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः4 weeks ago

सिड्नी । अर्बनको ट्रेन स्टेशनबाट बायाँतर्फ निस्कनुभयो भने, तपाँईले अलिकति माथि दुईवटा होर्डिङ एउटै लहरमा देख्न सक्नुहुन्छ, त्यो हो बुद्ध ज्वलरी र बुटिक नेपाल । विदेशमा बस्ने जोकोहीलाई यस्तो देख्ने वित्तिकै मन फुरुङ हुन्छ । नारीहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याईएको बुटिक नेपालका सञ्चालक प्रतिरोध प्रसाई आफ्ना ग्राहकहरुसँग निकै व्यस्त थिए ।

९० प्रतिशत ग्राहक नेपाली रहेको बताउने प्रसाई अर्बनमा नेपालीको जनसँख्या दिनप्रतिदिन बढ्दै जाँदा अन्य व्यवसायहरु प्नि फस्टाउँदै गएको बताउंछन् । सन् २०१८ बाट घरभित्रबाटै सुरु गरेको उनको व्यवसाय अहिले अर्बनको मुख्य बजार र नेपालीहरुको बाहुल्य भएको अर्को सबव रकडेल पनि विस्तार भएको छ । ‘अर्बनमा नेपालीको जनसँख्या धेरै हुनु एउटा पक्ष छदैछ, त्यसमाथि नेपालीहरुको बाक्लै वशोवाश रहेको सबवहरु स्टाटफिल्ड, ग्रानभिल, हस्टभिल, लगायतका क्षेत्रबाट समेत राम्रो आउजाउ हुन्छ’, उनले भने, ‘त्यसैले व्यवसाय गर्न चाहाने नेपालीहरुले अर्बनलाई नै रोज्ने गरेका छन् ।’

यदि तपाँई, स्टेशनबाट दायाँतर्फ लाग्नुभयो भने सिधै अगाडी देख्न सक्नुहुन्छ, हाम्रो असन बजार । उक्त पसल सन् २०१५ देखि राजकुमार श्रेष्ठले सञ्चालन गर्दै आएका छन् । दैनिक उपभोग्य सामानदेखि पुजापाठसम्मका सामानहरु पाइने पसलका सञ्चालक श्रेष्ठ भन्छन्, ‘नेपालीलाई चाहिने ९९ प्रतिशत सामान हामी कहाँ पाइन्छ ।’
स्टेशन नजिक व्यापार व्यवसाय गर्ने मात्र होइन् अर्बनको हरेक ‘स्ट्रिट’ मा नेपालीहरु भेटिन्छन् ।

अर्बन जाने ट्रेन होस्, या अर्बनको मुख्य व्यापार केन्द्र, ‘अर्बन सेन्ट्रल’, जताततै नेपालीहरुकै बाहुल्य हुन्छ । अर्बन बजारदेखि केहि पर, अर्बन पार्क छ, जसलाई नेपाली पार्क भने पनि फरक पर्दैन्, किनभने पार्कमा घुमघाम गर्ने देखि विभिन्न किसिमका खेलहरु खेल्ने नेपालीहरु नै बढी हुन्छन् । त्यही पार्कको एउटा छेउमा नेपालकै झल्को दिनेगरि सडकमा ‘ठेला’ मार्फत ‘स्ट्रिट फुड’ सञ्चालन भइरहेका छन् । पुजा आर्यल र उनका श्रीमान्ले सुरु गरेको, ठेला अहिले अन्य नेपालीहरुले सञ्चालन गरेपछि हरेक साँझ पार्क वरपर मेला नै लाग्ने गरेको छ । ठेलामा म.म, चाउमिन, चटपटे लगायतका नेपाली परिकारहरु खान पाइन्छ ।

पहिलो पटक अस्ट्रेलियामा पनि नेपाली स्ट्रिट फुड सञ्चालन गर्ने ठेलाकी सञ्चालिका पुजा अर्यालले, ठेलामा आएपछि नेपाली विद्यार्थी र अभिभावकहरु निकै खुशी हुने बताउछिन् । ‘सुरुमा स्थानीय काउन्सिलबाट अनुमति पाउनै गाह्रो भयो, अनि कि चल्दैन र भन्ने डर पनि थियो’, उनले भनिन्, ‘तर, अहिले सबैको राम्रो प्रतिक्रिया पाइराखेका छौँ ।’ पुजा र उनका परिवारले ‘ठेला’ कै ब्राण्डबाट लिडकम र ह्यारिस पार्कमा रेष्टुरेन्ट नै सञ्चालन गरेका छन् ।

वेस्टन सिड्नी अन्र्तगत पर्ने अर्बन यसरी, बढ्दो जनसँख्या र फैलिदो पहिचानका कारण नेपाली समुदायको इपिसेन्टर बन्दै गएको छ । सन् २०१८ मा अशोक उप्रेती, रविन्द्र कुमार शर्मा र जितेन श्रेष्ठहरुको पहलमा अर्बन नेप्लिज कम्युनिटी गठन गरिएपछि अर्बनमा बस्ने नेपालीहरुलाई आईपर्ने विभिन्न किसिमका समस्याहरुलाई साझा रुपमा समाधानको प्रयास गरिदै आएको छ ।

कम्युनिटीका संस्थापक कोषाध्यक्ष, जितेन्द्र नै अहिले संस्थाको अध्यक्ष बनेका छन् । उनका अनुसार, अहिले अर्बनमा नेपालीको जनसँख्या दश हजारको हाराहारीमा पुगेको छ । किराना पसलदेखि सुन पसल, होटल देखि होलसेल गरि ३५ भन्दा बढी नेपालीले सटर भाडामै लिएर व्यवस्थित रुपमा व्यवसाय सञ्चालन गर्दै आएका छन् भने अर्बनमा बसेर अनलाइन व्यवसाय गर्ने, ड्राइभिङ कक्षा र कन्सल्टेन्सी सञ्चालन गर्नेको सँख्या पनि उल्लेख्य रुपमा बढ्दै गएको छ ।

संस्थाका अध्यक्ष श्रेष्ठ आफैले पनि ‘अर्बन सेन्ट्रल’मा सन् २०१५ देखि मनकामना किराना स्टोर्स सञ्चालन गर्दै आएका छन् । ‘अर्बनमा नेपालीहरु बढ्नुको मुख्य कारण, एक अर्कासँगको कनेक्शन हो, नेपालबाट आउने नयाँ विद्यार्थीहरु जहाँ आफन्त र साथीभाई छन्, सुरुमा त्यही नै बस्ने हो’, अध्यक्ष श्रेष्ठले भने, ‘पछि बस्दै गएपछि अर्बन नै सबैलाई मनपर्छ ।’ एउटै सवबमा १० हजार भन्दा बढी जनसँख्या हुनु आफैमा ठुलो शक्ति भएको अध्यक्ष श्रेष्ठ स्वीकार गर्छन् । ‘अहिले स्थानीय काउन्सिल देखि प्रहरी प्रशासनले पनि हामीसँग धेरै समन्वय गर्न खोजेका छन्, हामी विस्तारै स्थानीय सरकारमा पनि पहुँच विस्तार गर्दैछौँ’, उनले थपे, ‘यसले हाम्रो समुदायलाई त फाइदा गर्छ नै, स्थानीय काउन्सिल र प्रहरीलाई पनि सघाउ पुग्नेछ ।’

(Visited 57 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services