काठमाडौं । रुसी सेनामा भर्ती भएका यी युवाले उद्धारका लागि दुई महिनादेखि नेपाल सरकारसँग गुहार माग्दा सहयोग नपाएको गुनासो गरेका छन् । ३० को समूहमा अब पाँच जना मात्रै बाँकी रहेको उनीहरूको भनाइ छ । तर दूरदराजबाट याचना गर्ने यी युवा मात्र होइन, परराष्ट्र मन्त्रालय नै धाएर परिवारजनले ताकेता गर्दा पनि नेपाल सरकारले उद्धारमा अर्थपूर्ण पहल गरेको छैन ।
यता, परराष्ट्र मन्त्रालयस्थित कन्सुलर विभागमा उपस्थित भएर परिवारले दिएको विवरणअनुसार ९७ जना सम्पर्कविहीन छन् । त्यसैगरी सरकारले संकलन गरेको तथ्यांकअनुसार १३ जना नेपाली घाइते अवस्थामा उतै छन् भने ८८ जनाले उद्धारका लागि परिवारमार्फत गुहार मागेका छन् । युक्रेनी सेनाको नियन्त्रणमा सात जना छन् । त्यस्तै अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै परिवारले क्षतिपूर्तिका लागि सरकारलाई निवेदन दिएका छन् । मृतकका परिवारलाई क्षतिपूर्तिका विषयमा रुससँग सामान्य समझदारी भए पनि जीवित युवाको उद्धारको पहलले कुनै आकार लिएको छैन ।
नेपाल सरकारबाट कुनै सहयोग नपाएको भन्दै चार युवाले भारत सरकारलाई सम्बोधन गरेर सन्देश जारी गरेका छन् । ‘हामीसँगै तीन जना भारतीय पनि थिए, तर उनीहरूलाई भारतले फिर्ता लग्यो । तर हाम्रो नेपाली दूतावासले हामीलाई केही पनि सहयोग गरेन, नेपालबाट केही पनि भइरहेको छैन, त्यसैले पनि हामी छिमेकी भारतसँग मद्दत माग्न परिरहेको छ,’ भिडियोमा सञ्जय भन्छन्, ‘हामीलाई बहुत आशा छ, इन्डियाले हामीलाई मद्दत गर्नेछ, निराश बनाउने छैन ।’
रुसी सेनामा भर्ती भई युक्रेनसँग आमुन्नेसामुन्ने नै लड्न जानुपर्ने अवस्था बाहिरिएदेखि नै नेपालीहरू फिर्ता हुन चाहेका थिए । रुसी सेनामा भर्ती भइसकेपछि फर्किन इच्छुक नेपालीलाई रुसले फिर्ता पठाएको छैन । त्यसैगरी इन्डिया टुडेले प्रकाशित गरेको अर्को भिडियोमा उपेन, धन, खिल र मदन नाम बताउने पाँच जना नेपाली युवाले पनि आफूहरू युक्रेनसँगको युद्धमा जाने क्रममा बाटोमा बंकरमा लुकेर बसेको बताएका छन् । उनीहरूले ‘युद्धका क्रममा के हुन्छ, कसो हुन्छ थाहा छैन’ भन्दै उक्त भिडियो सम्झनाका लागि बनाएको उल्लेख गरेका छन् ।
रुसी सेनामा भर्ती भएका नेपालीहरूका अनुसार कम्तीमा दुई हजार नेपाली भर्ती भएका छन् । तीमध्ये धेरैजसो बेपत्ता भइसकेका छन् । ‘हाम्रो समूहमा २९ जना थियो । चार महिना रेडजोनबाट फर्किंदा अहिले ७ जना मात्रै छौं । बाँकी साथीहरू सम्पर्कविहीन छन्,’ राकेश लामाले भने ।युक्रेनको याकोलिप्कास्थित रेडजोनबाट दुई दिनको आरामका लागि आएका दैलेखका चन्द्रबहादुर रानाले युद्धमा फसेका सबै नेपालीलाई फिर्ता पठाउन जरुरी रहेको बताए । ‘दुई दिनको बिदामा रेस्टका लागि ल्याएको थियो । हाम्रो टोलीमा ३१ जना नेपाली छौं । सकेसम्म वारमा फसेका सबै नेपालीलाई फिर्ता पठाउन पाए राम्रो हुने थियो,’ रेडजोन जानुअघि छोडेको भ्वाइस नोटमा भनेका छन्, ‘रुसी सेनामा भर्ती भएका जोसुकै एक पटक लड्न जानैपर्छ । जजसले लडाइँलाई फेस गरेका छन्, लडाइँ लडेका छन् । उनीहरू एक सेकेन्ड पनि बस्न चाहँदैनन् ।’
उनका अनुसार युद्ध लड्न गएका कतिपय घाइतेको हातखुट्टा नै छैन । ‘कसैको तलतिरको ज्यान हुँदैन । कसैको हात छैन त कसैको खुट्टा छैन । ज्यान जानेको सकिगो । धेरै समस्या छन्,’ उनको अनुभव छ, ‘पैसाको कुराले गर्दा हामी यहाँ आएर फस्नुपर्यो ।’ उनले सोचेको भन्दा धेरै नाजुक अवस्था रहेको बताए । ‘कोही बिनापैसा लडिराख्नुपरेको छ । कोही अधकल्चो मान्छेलाई अस्पताल लगेर सन्चो बनाएर फेरि लडाइँमा पठाइरहेको छ,’ उनले भने ।
२० वर्ष सशस्त्र प्रहरीमा सेवा गरेका सुनसरीका हेमराज बुढाथोकीले परिवारको उपचार गर्न नसकेर रुसी सेनामा भर्ती हुनुपरेको बताए । ‘मेरी श्रीमती मृगौला पीडित हो । बिरामी थपिएको थपियै छ । तिर्न नसक्ने भएपछि सापटी खोजेर मात्रै नहुँदो रहेछ’, बुढाथोकीले भने, ‘यो अवस्थामा आएको चार महिनादेखि तलब छैन । भत्ता मात्रै आएको छ । परिवारमा अहिले पनि औषधि खाने पैसा छैन । के गर्ने बुढा भनेर फोन गर्छिन् । यसका लागि सरकारमा के सहयोग हुन्छ रु मलाई के सहयोग हुन्छ रु परिवारलाई के सहयोग हुन्छ ? लडाइँमा परियो भने मर्ने बाँच्ने ठेगाना हुँदैन । यहाँ अरिंगालको गोलामा ढुंगा हाने जस्तो हो ।’
भूराजनीतिक जानकार चन्द्रदेव भट्टले नेपालले अन्य मुलुकहरूसँग पनि सहकार्य गरेर अघि बढ्न सक्ने सुझाव दिए । उनले भने, ‘उदाहरणका लागि हामीले भारत र चीनसँग सहकार्य गरेर रुससँग संवाद गर्न सक्छौं । रुससँग भारत र चीन दुवैको राम्रो सम्बन्ध भएका कारण नेपालले त्यस पक्षलाई पनि उपयोग गर्न सक्छ ।’
पूर्वराजदूत विजयकान्त कर्णले नेपाली नागरिकका बारेमा रुसले राम्रो प्रतिक्रिया नदिएमा नेपाल सरकारले काठमाडौंमा रहेको रुसी राजदूतलाई बोलाएर सोध्नुपर्छ र आवश्यक परे राजदूतलाई फिर्ता पनि पठाउन पछि पर्न नहुने बताए । ‘रुसलाई अहिले सैनिक चाहिएको छ । उसले सामान्य रूपमा हामीले भनेको मान्नेवाला देखिन्न । त्यसैले रुसी सेनामा नेपाली भर्तीबारे नेपालले अब अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि कुरा उठाउन थाल्नुपर्छ,’ उनको भनाइ थियो ।
गत मंसिर २५ मा मस्कोस्थित नेपाली दूतावासमा उद्धारका लागि आवेदन दिएका अछामका चक्रबहादुर कुँवर र पर्वतका कृष्णबहादुर क्षेत्रीले समयमा उद्धार नहुँदा आफूहरू निकै निराश हुनुपरेको बताए । कुँवर र क्षेत्री बंकर बनाउने काम गरिरहेका छन् । ‘हाम्रो सरकार के गरिरहेको छ रु थाहा छैन । हामी कतिको आशावादी मात्र बनौं रु’, उनले कान्तिपुरसँग फोनमा भने, ‘हामी बाँच्न चाहन्छौं । हामीसँग बसिरहेका साथीहरूले मृत्युवरण गरेका देखेका छौं ।’ साभारः इकान्तिपुर
© 2023. All rights reserved. Designed By: HK Web Services