
काठमाडौं । अस्ट्रेलियाको सिड्नीलाई कर्मथलो बनाएका युवा विनोद कुवँरले नेपालको रुपन्देही जिल्लामा निजी लगानीमा आठ महिनामा निर्माण सम्पन्न गरिएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको उद्घाटन गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) न्यु साउथ बेल्स राज्यका संयोजक समेत रहेका कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा वडा नम्बर १७ मा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण सम्पन्न गरेका हुन् ।
गत जेठ ३० गते शिलान्यास गरिएको उक्त रंगशाला आठ महिनामा सम्पन्न भएपनि आफूहरूले वर्षायाम र दशैं तिहारका कारण ४ महिना मात्रै काम गरेर सम्पन्न गरेको रङ्गशाला निर्माता कुँवरले बताए । उनले भने, ‘मैले अष्ट्रेलियाबाट सिकेको समयको महत्वका आधारमा काम गर्दा छोटो समयमा निर्माण सम्पन्न गर्न सफल भएका हौं ।’ रंगशाला खेल्न तयार भए पनि अझै केही भौतिक निर्माण भने बाँकी रहेको एक्स्ट्राटेक ओभलका निर्देशक कुँवरले बताए ।
अस्ट्रेलियामा सूचना प्रविधिसम्बन्धी व्यवसाय गर्ने कुँवरले निजी स्रोतबाट उक्त रंगशाला निर्माण गरेका हुन्। रंगशालाको स्थायित्वका लागि गुरुयोजना बनाइसकेको र निर्माण सम्पन्न भएपछि व्यावसायिक रूपमा अघि बढाएर नमुना योजना बनाउने उनले बताए। ‘मैदानमा प्यारापिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुने अनुमान छ। प्यारापिट बनाउने काम सुरु भइसकेको छ। यसका लागि करिब १८ करोड खर्च हुनेछ,’ उनले भने ।
लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा कांग्रेस सांसद चन्द्र भण्डारी एमाले सांसद गोकर्ण विष्ट लगायतको आतिथ्यतामा रङ्गशाला उद्घाटन गरिएको छ ।रंगशाला उद्घाटनको दिन चार टोलीबीच तिलोत्तमा एक्स्ट्राटेक लेजेण्ड्स कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी–२० विश्वकप खेलेको टोली, रुपन्देही लेजेन्ड्स र रेस्ट अफ नेपालबीच प्रतिस्पर्धा भइरहेको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services