अष्ट्रेलियामा कलानीको निर्देशनमा नेपाली फिल्म बन्ने
प्रकाशित मितिः2 years ago

सिड्नी । अष्ट्रेलियाबाट नेपाली भाषाको फिल्म निर्माण हुने भएको छ । अष्ट्रेलियाको फिल्म बोर्डमा आधिकारिक रुपमा दर्ता भएर बन्ने फिल्मलाई अष्ट्रेलियाली नागरिक कलानी गेकोनले निर्देशन गर्ने भएका छन् । फिल्मलाई गेकोन र सविन ज्ञवालीले निर्माण गर्नेछन् ।

फिल्मको नाम ‘होम बिफोर नाइट’ राखिएको छ । नेपाली भाषा राम्रोसँग बोल्न जान्ने गेकोनले निर्माण गरेको नेपाली सर्ट फिल्म ‘सपनाको आवाज’ले थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कार समेत जितेको थियो ।

नेपाली फिल्मकर्मी सविन एक दशकभन्दा लामो समयदेखि सिड्नी बसोबास गर्दै आएका छन् । उनले नेपाली फिल्म ‘दोख’ निर्माण गरिसकेका छन् भने केही अष्ट्रेलियाली फिल्ममा समेत काम गरेका छन् । उनले अष्ट्रेलियामा छायांकन गरिएका नेपाली फिल्म ‘ब्रेकअप’ र ‘लप्पनछप्पन २’ को प्राविधिक र प्रशासनिक पाटोको जिम्मेवारी सम्हालेका थिए ।

‘होम बिफोर नाइट’को छायांकन अष्ट्रेलियाका साथै नेपालमा पनि गरिने निर्माता सविन ज्ञवालीले जानकारी दिए । ‘प्रवासी जीवनका कारण नेपालको परिवारसँग टुट्न पुगेको सम्बन्धको कथामा फिल्म बन्नेछ,’ उनले भने, ‘हामी फिल्ममा तीन मुख्य अभिनेत्रीको खोजीमा छौं ।’

उनले अगाडि भने, ‘नेपालमा जन्मिएर अष्ट्रेलियामा हुर्केकी महिला, अष्ट्रेलियाको एज केयरमा काम गर्ने नेपाली महिला र भर्खर नेपालबाट अष्ट्रेलिया आएकी महिला गरेर तीन महिला पात्रबीच कथा घुम्ने छ । अष्ट्रेलियामा रहेका इच्छुकहरूलाई यो फिल्मका लागि हामीले आह्वान गरेका छौं ।’

(Visited 81 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services