
सिड्नी । मोडल दुर्गेश थापा विभिन्न कारणले विवादमा आइरहन्छन् । कहिले गीतका कारण त कहिले अभिव्यक्ति र अन्य कारण उनी मिडियामा गसिप बन्ने गर्छन् ।अहिले दुर्गेश कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा छन् । यही ९ मार्चमा सिड्नीको ग्र्यानभिल टाउन हलमा हुने कार्यक्रममा उनले प्रस्तुति दिंदैछन् ।
कार्यक्रमबारे जानकारी दिन सिड्नीमा पत्रकार सम्मेलन गरियो । त्यहाँ मिडियाले उनीमाथि विवादित भइरहनुको कारणबारे केही प्रश्न तेर्स्याए । जवाफमा दुर्गेशले भने, ‘विवादका कारण चलेकाहरूको आयु छोटो हुन्छ । म त १० वर्षभन्दा बढी समयदेखि यो क्षेत्रमा छु र वर्षौंसम्म रहिरहने छु ।’
उनले अगाडि भने,‘‘म बजारमा चलेका कुरा माथि गीत–संगीत बनाउँछु, तर त्यो कुरा कहिलेकाहीं समाज बिथोल्ने र समाजले पउन नसक्ने हुँदा म विवादमा पर्ने गरेको छु । तर जीवनमा जानी जानी होइन, अञ्जानमा म विवादमा आइरहेको हुन्छु । नाम वा बदनाम जे भए पनि स्वीकार्ने तर आफ्नो क्षेत्रबाट गुमनाम हुँदिनँ ।’
केही समय अगाडि नेपालमा भएको एक कार्यक्रममा आफूमाथि बोतल प्रकार भएको घटनालाई पनि दुर्गेशले सिड्नीमा आएर पनि स्मरण गरे । ‘यो संसारमा सबै मेरा प्रशंसकहरू मात्र कहाँ छन र ? मलाई मन नपराउनेहरु पनि छन् भन्ने सोचेर म अगाडि बढ्नुपर्छ । सबैले मन पराए भने म मात्तिन्छु । मलाई सजग बनाउन र सतर्क राख्न यस्तो घटना भएको हो भन्ने बुझेको छु ।’
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services