‘आई एम प्रेग्नेन्ट..’
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः9 months ago

सिड्नी । उनलाई मैले अर्पाटमेन्टको लिफ्टमा भेटेको हुँ । अग्लो कद, हसिलो चेहरा, मिजासिलो व्यवहार । विदेशमा हेल्परको काम गर्ने मलाई पहिलो पटक कसैले सम्मान र मायाँको भावले हाई–हेल्लो गरेको थियो भने त्यो उनी नै थिइन् । भखरै अँग्रेजी शष्दहरुसँग ‘फेमिलियर’ हुदै थिएँ, तैपनि अझै थुपै अस्ट्रेलियन ‘स्ल्याङ’ र लवजले मलाई कन्फ्युज बनारहन्छ । तर, उनको बोलीमा कहि पनि अस्ट्रेलियन लवजको आभास हुदैनथ्यो । मलाई लाग्यो, यिनि ‘अजी’ होइनन् । १३ औं तलाबाट तेस्रो तलासम्म आइपुग्दा मलाई उनी असाध्यै राम्री लागेको थियो । थाहा छैन खै के कुराले आकर्षण ग¥यो ? तेस्रो तलामा उनी आफ्नो पोष्ट डेलिभरी पार्सल रिसिभ गर्न आएकी रहिछिन् । अस्ट्रेलियन पोष्टका डेलिभरी ब्वाईलाई उनले यति मिठो तरिकाले धन्यबाद भनिन्, त्यसले मलाई उनीप्रति अझ आकर्षण बढायो । त्यसदिन यता म चाहान्थें हरेक दिन उनलाई यसरी नै लिफ्टमा भेट्न पाइयोस्, अनि ‘हाई’ भन्न पाइयोस् ।

काम गर्दा होस् या ब्रेकमा रहँदा, घर आउँदा होस् या काम जाने बेला, त्यो हसिलो र सुन्दर अनुहार अनि हरेक शष्दमा निस्कने मधुर मुस्कान झल्झली हुन्थ्यो । घरपरिवार, साथीभाई, इष्टमित्र अनि देश छाडेर प्रवास पसेपछि म कसैप्रति पहिलो पटक आकर्षित थिएँ त केवल उनी नै थिइन् । मान्छेहरु भन्ने गर्छन्, ‘प्रेम हुनलाई खाश समय र काल चाहिदैन..’ मलाई पनि हो जस्तै लाग्दै गयो । त्यसदिन देखि कम्तिमा एक दिन म त्यो लिफ्टमा पुग्थें अनि विभिन्न बाहना बनाएर निकै समय बिताउथें । कोही निकै हतारमा, कोही मौनतामा, कोही तनाबमा, कोही प्रशन्नतामा भेटिन्थे भने त कोही कफीको चुस्कीसँगै, कोही अघिल्लो रातको ह्याङओभर मेटाउन मर्निङवाकको चक्करमा त कोही कामबाट फर्किदै गरेका थुप्रै अनुहार भेटें । हरेक पटक लिफ्टको झ्याल खुल्ने वित्तिकै लाग्थ्यो, उनी आइन् कि ? २० तलाको अग्लो अर्पाटमेन्टको त्यो लिफ्टमा दैनिक कति समय बिताएँ थाहा छैन् तर यति चाही पक्का हो, मैले आधा घण्टाको बे्रक त्यहि नै बिताउथें । अस्ट्रेलिया आफैमा बहुसाँस्कृतिक देश हो, हाम्रो कम्पनीले पनि कामदारहरु त्यसरी नै फरक–फरक देशबाट ‘हायर’ गर्ने गर्छ । त्यसैले हामी नेपाल, भारत, पाकिस्तानबाट छदै छौं, फिलिपिन्स, क्यानडा, अमेरिका अनि इजरायल देखि घानासम्मका सहकर्मी छौं ।

आठ घण्टाको काममा वैधानिक रुपले आधा घण्टाको ब्रेक त मिलिहाल्छ, त्यसमाथि एक घण्टामा पाँच देखि दश मिनेट ब्रेक जाँदा हाकिमले केहि भन्दैन् । जब ब्रेक हुन्छ, सबै सहकर्मीहरु आ–आफ्नो देशमा रहेका परिवारजन, साथीभाई अनि मनपर्ने मान्छेहरुसँग हाइसञ्चो मात्र होइन् मायाँ, प्रेम, बिवाह देखि भविश्यसम्मका कुराहरु गरेको सुन्छु । तर, म भने त्यही अनुहारको पखाईमा त्यही लिफ्टमा पुग्थें । केहि दिन लिफ्टमा विभिन्न बाहना बनाएर समय कटाउने म त्यसपछि हरेक लेभलमा पुग्ने भएँ । हरेक लेभलमा पुगेर लिफ्टको ढोका खुलेपछि यताउती हेर्थें अनि फेरि अर्को लेभलमा पुग्थें, त्यसरी नै हेर्थें तर, त्यो अनुहार भने कत्ति पनि भेटाउन सकिन्थ्यो । पहिलो पटक भेटेको १३ औँ तल्ला र उनले डेलिभरी ‘रिसिभ’ गरेको तेस्रो तलामा त म कतिपटक गएँ, गएँ । मैले उनलाई भेटेको दिउंसो १२ बजे तिर हो, मेरो ब्रेक १ बजे हुन्थ्यो, कहिलेकाँही त हाकिमलाई भनेर १२ बजे नै ब्रेक लिएर लिफ्टमा पुग्ने गर्थें ।

पाँच हप्तासम्म निरन्तर यहि धाउँदा समेत नभेटेपछि मैले एउटा जुक्ति लगाएँ, डेलिभरि ब्वाइलाई भेट्ने अनि उही सुन्दरीबारे केहि सोध्ने । अर्को दिन उसैगरि १२ बजे नै बे्रक लिएर तेस्रो तलामा पुगें । अस्ट्रेलियामा डेलिभरिका पनि थुप्रै कम्पनी तथा एजेन्टहरु हुदोरहेछ, मैले अस्ट्रेलियन पोष्टका ति एसियन वर्णका ब्वाईलाई पर्खिरहेका थिएँ । एकछिनमा अस्ट्रेलियन पोष्टकै युनिफर्ममा थुप्रै प्याकेजका भारी लिएर ब्वाई होइन्, अधबैसें महिला पो आइन् । गेटको छेउमा आफ्नो झोला राखेर फटाफट सामान निकाल्दै हरेक युनिटको ‘मेलवक्स’ भित्र राख्न थालिन् म भने एक छेउमा मोवाइलमा केहि हेरे जस्तो गरेर उनलाई हेरिरहेको थिएँ । जब आफ्नो काम सकेर जान लागिन्, मैले सोधें–‘गतहप्ता आएको त्यो एसियन वर्णको ब्वाई आज किन नआएको ? ‘एक महिना लागि बार्षिक बिदामा गएको छ’उनले अँग्रजीमै जवाफ फकाईन् । नियमित पार्सल ल्याइदिने डेलिभरि ब्वाई मार्फत ति ‘सुन्दरी’सम्म पुग्ने मेरो एउटा योजना त्यहि तुहियो । अब म त्यो लिफ्टमा निकै कम जाने थालें, हप्तामा एक/दुई पटक मात्र ।

बुधबारको दिन कामको व्यस्तता केहि कम हुन्थ्यो साइटमा । सुपरभाइजरको श्रीमति बिरामी परेपछि ‘बोस’ छिट्टै घर जाने भयो, सहायक सुपरभाजर जोनलाई जिम्मा दिएर । फिलिपिन्सका जोनलाई हामीले ‘फिले जोन’ भन्थ्यौं । जोन र म ब्रेकको समयमा सँगै चुरोट पिउने पाटनर हौं । मलाई अस्ट्रेलिया छिरेपछि चुरोट होइन् चिनमा उत्पादिन ‘भेइप’ तान्न सिकाउने आदरणीय गुरु उ नै थिए । चुरोटबाट भेइपमा रुपान्तरण भएको दिन म कहिल्यै भुल्दिन् किनकि जहाँतही चुरोट तान्न निषेध हुने भएकोले मलाई ज्यादै समस्या थियो, अझ ट्रेन, मेट्रो रेल र नगरबस चढ्दा झन मलाई कहिले पिउने ठाउँमा पुग्ने र एक सर्को लिने हो भन्ने आतुर हुन्थ्यो । जब भेइप हान्न थालियो नि, ज्यादै सहज, जहाँ ताने पनि हुने । त्यसैले, ट्रेनको क्यारेज र बसको सिटदेखि कफी लिने लाइनसम्म पनि खल्तीबाट झिकेर दिइहाल्थें । सुपरभाइजर साइटबाट निस्कने वित्तिकै हामी दुई जना लाग्यौं, फेरि उही हाम्रो नियमित सेल्टर, कारपार्कको एकछेऊमा ।

जोन सुपरभाइजर हुनु भनेको, साइटमा मेरो रगजग चल्नु थियो, अर्थात जोनको फस्टम्यान थिएँ म । नेपाली, पाकिस्तानी, इन्डियन र बंगलादेशीको सँख्या धेरै रहेको हाम्रो साइटमा जब जोनको दिन आउथ्यो, हामी अझ स्वतन्त्र र खुशीका साथ काम गथ्यौं, त्यसैले तुलनात्मक रुपमा बढी काम पनि हुन्थ्यो । हाम्रो काम गराइले जोनले थुप्रै पटक कम्पनीबाट प्रशंसा पाएका थिए । भेइपको एक सर्को लिदै मैले जोनलाई भने –‘त्यो नयाँ बनेको बिल्डिङ बस्ने एउटा ‘ह्वाइट गर्ल’ धेरै मनपर्छ, एकपटक लिफ्टमा भेटे यता धेरै दिनसम्म लिफ्टमा कुरे तर आजसम्म भेटाउन सकेको छैन ।’ जोनले ठ्याक्कै मेसो लगाउन सकेनन् । लगाओस् पनि कसरी ? यिनलाई त्यस्तोमा खाशै चासो नै छैन । अझ भनुं, फुर्सद नै कहाँ छ र ? १५ बर्षे अस्ट्रेलिया बसाइमा यी फिलिपिनोले डाहा लाग्दो प्रगति गरेका छन्, घर, घडेरी, कार अनि बैंक व्यालेन्स । अस्ट्रेलियामा एउटा भनाई निकै चल्तीमा छ, ‘जो मेसिन र वमिनको पछि पर्दैन्, त्यो पुरुषले राम्रो प्रगति गर्छ ।’ म भनें अनायसै ‘वमिन’को पछि परेको थिएँ । न मलाई नाम थाहा थियो, न बस्ने युनिट न ठेगाना । थियो त केवल उनको चम्किलो र हसिलो उनको अनुहार अनि बोलीचालीको ठुलो प्रशंसक ।

तीन महिना भइसकेको थियो, त्यो अनुहारलाई नदेखेको । तैपनि, लिफ्टमा जाने मेरो बानी पूर्ण रुपमा हटेको थिएन् । ब्रेकमा लिफ्टमा जाने बानीले सहकर्मी कामदारहरुले निकै सोधीखोजी गर्न थालेका थिए । साइटमा १० बर्षदेखि ब्रिकरको रुपमा काम गर्ने भारतीय फिरोज मिश्रासँग मेरो दोस्ती निकै नै गहिरो थियो । नेपालीमा थुप्रै असभ्य शष्दहरु सिकाउने मै थिएँ । यसपटक चाही फिरोजसँगै ग्राउण्ड लेभलबाट १३ औँ तलासम्म जाने योजना बनाएँ । हामी ग्राउण्ड लेभलबाट माथि जाँदै थियौँ, लिफ्ट तेस्रो तलामा पुगेर रोकियो, जब ढोका खुल्यो, मैले झ्याप्पै देखेँ, त्यही सुन्दर अनुहार, जसलाई मैले तीन महिनादेखि खोजीरहेको थिएँ । एकछिन त अलमलमा परेँ, के गरुँ, के नगरुँ जस्तो लाग्यो । झ्वाम्म अँगालो मारौँ जस्तो लागेको थियो तर, कसरी गर्ने ? मैले सोधीहालेँ– ‘हेल्लो हाउ आर यु ?’ लामो समय भयो नि नदेखेको ? ‘तीन महिनाका लागि युरोप गएकी थिएँ, पछि १५ दिन इन्डोनेसियाको बालीमा बिताएँ, हिजो मात्रै आइपुगेकी हुँ’ उनले मुस्कुराउँदै जवाफ फकाइन् । यसपटक उनी आफुले पालेको कुकुरलाई बाहिर डुलाएर फर्किदै थिइन् ।

‘तीन महिनासम्म म तिम्रो लागि कति तड्पिएँ ? तिम्रो सुन्दरताको राज के हो ?’ फेरि यी प्रश्नहरु गरुँ जस्तो लागेको थियो तर, आँट कहाँ आउनु ? उनी निकै हतारमा देखिन्थी तर, मैले आफ्नो परिचय दिदै भने, ‘म त्यहि तल कन्स्ट्रशन भइरहेको साइटमा काम गर्छु, एउटा एक्काभेटर हेल्परका रुपमा ।’ उनको अनुहार र मुस्कानमा मात्रै परेको नजर बिस्तारै अन्य भागहरुमा पर्दै गयो । उनी पहिलो पटक देखेको भन्दा निकै मोटाएकी थिइन्, खाशगरि ‘पेट’ निकै निस्केको थियो । मैले फेरि प्रश्न गरें–‘तिमी पहिला देखेको भन्दा मोटो देखिन्छ । होलीडे धेरै उत्कृष्ट भए जस्तो छ ।’ उनले सहजै उत्तर दिइन्– ‘नो, आई एम प्रेग्नेन्ट ।’ ‘ह्वाट्..?’ मुख अमिलो, अनुहार कालो हुदै निस्केको शष्द थियो मेरो । उनको साथमा रहेको कुकुर निकै भोकाए निकै भोकाएछ क्यार, धेरै नै झम्टिन थालेपछि ‘फेरि भेटौला, ओके..’ भन्दै लिफ्ट भित्र छिरिन् । म भने ट्वा परेर हेरेको हे¥यै । बाँकी दुईघण्टा काममा कसरी बित्यो ? के–के काम गरें ? केहि पत्तो भएन् । नियमित तीन बजे छुट्टी भएपछि घर आउने ट्रेन समातें, नजिकैको स्टेशनबाट । क्यारेजमा बस्दा सम्म मन शान्त भइसकेको थिएन् । किचनको फ्रिजबाट लिएको चिसो पानी पिउँदै आफैलाई शान्त बनाउने कोसिस गरें । मनमा थुप्रै अनुत्तरित प्रश्नहरु थिए, जस्तो कि– को मान्छेहरु एकै नजरमा कि यति धेरै राम्रो लाग्छन् ? तर, सोध्ने कसलाई ? जवाफ खोज्ने कहाँ ?

(उल्लेखित लेखका बाँकी अंशहरु नियमित प्रकाशित हुदै जानेछ । प्रतिक्रियाका लागिः [email protected])

(Visited 123 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services