५० बर्ष अस्ट्रेलिया बिताएका नारायण प्रधानको ‘गोल्डेन अनुभव’
✍ राजन घिमिरे
प्रकाशित मितिः2 years ago

सिड्नी । पछिल्लो समय विद्यार्थी र अन्य भिसामा अष्ट्रेलिया आउने नेपालीको संख्या ह्वात्तै बढेको छ। हरेक शहरमा नेपालीको उपस्थिति बाक्लिइरहँदा मनमा कौतूहल बढ्नु स्वाभाविकै हो कि अष्ट्रेलियामा स्थायी रूपमा बसोबास गर्ने पहिलो आधिकारिक नेपाली को होला ? उनी कसरी अष्ट्रेलिया आइपुगे होलान् र के–कस्ता अप्ठ्यारा सामना गर्नुपर्‍यो होला ? वा बिरानो देशमा आफ्नो भाषा बुझ्ने कोही नहुँदा कस्तो अनुभूति हुन्थ्यो होला ?

यहाँ अष्ट्रेलियाको पहिलो स्थायी बसोबास (पीआर) लिएर यहीं ५० वर्ष बिताएका नेपाली डा। नारायण प्रधानको अष्ट्रेलिया बसाइका अनुभव उनकै शब्दमा प्रस्तुत गरेका छौं –

म डा. नारायण प्रधान। गएको १० फेब्रुअरीमा म अष्ट्रेलिया आएको ५० वर्ष पूरा भयो। अहिले म ८३ वर्ष पुगिसकें। सन् १९७४ मा म स्कटल्याण्डबाट बसाइँ सरेर अष्ट्रेलिया आएको थिएँ। त्यतिबेला स्कटल्यान्डबाटै अष्ट्रेलियाको आवासीय भिसा प्राप्त गर्दै अष्ट्रेलियाको मेलबर्न आइपुगेको थिएँ।

मैले स्कटल्यान्डमा केमेस्ट्री एनालिटिक पढेको थिएँ। यही विषय पढेकै कारण मलाई अष्ट्रेलियाले आवासीय भिसा (प्रवेशाज्ञा) सहित मेलवर्नको सीएसआरओमा जागिर दिएको थियो। यसरी म अष्ट्रेलिया बसाइँसराइ गर्ने पहिलो नेपाली बन्न पुगें। खानी विभागमा वरिष्ठ रसायनशास्त्रीको जिम्मेवारीमा रहँदा म स्कटल्यान्ड पढ्न आएको थिएँ। सन् १९७२ मा स्कटल्यान्डबाट पीएचडी सकेर नेपाल फर्किएँ तर जागिर पाउन सकिनँ। म फर्किएर पुनः स्कटल्यान्ड नै पुगें र विस्तारै मेलबर्न पुगें।

म अहिले श्रीमती र दुई सन्तानका साथ सिड्नीमा बस्दै आएको छु। त्यतिबेला मेलबर्न पुग्दा एक जना नेपाली पनि भेटिएनन्। करिब ६ महिनापछि एडमन्ड हिलारीको च्यारिटी कार्यक्रममा एक जना दार्जीलिङका नेपाली भाषी आउने खबर सुनेपछि मन नै फुरूङ्ग भएर आयो। उनीसँग प्रत्यक्ष भेट्न नपाए तापनि टेलिफोनमा कुरा गर्न पाएपछि कान नै पवित्र भए जस्तो भयो।

केही वर्ष मेलबर्न बसेपछि सन् १९७७ मा म सिड्नी आएँ। त्यतिबेला सिड्नीमा ६÷७ जना नेपाली हुनुहुन्छ भन्ने सुनें। सन् १९७५ तिर इन्द्रा बन, गोविन्द शाह लगायतका नेपालीहरु सिड्नी आइसक्नुभएको थियो। यसरी विस्तारै नेपालीको संख्या बढ्न थालेपछि हामी हरेक दिन जसो भेट्न थाल्यौं। सिड्नीमा रहेका केही नेपालीको हात र साथ मिलेपछि हामीले गोर्खा नेप्लीज सोसाइटी गठन गर्‍यौं। त्यही सोसाइटीको आयोजनामा सन् १९९८ मा मदनकृष्ण र हरिवंशलाई अष्ट्रेलिया बोलाएर कार्यक्रम गरियो। त्यतिबेला यहाँ नेपाली दूतावास थिएन। यहाँको काम जापानको दूतावासले हेर्दथ्यो।

त्यही बीचमा मैले याक एण्ड यती नेप्लीज कुजिन नामक रेस्टुरेन्ट खोलें। यो रेस्टुरेन्ट खुलेपछि नेपाली कुरा गर्ने, खाने, छलफल गर्ने एउटा चौतारी भयो। सन् २००० मा सिड्नीमा ओलम्पिक हुँदा तत्कालीन युवराज दीपेन्द्रको बसाइको जिम्मा हामीले नै लिएका थियौं। उहाँको खानाको जिम्मा मेरै रेस्टुरेन्टले लिएको थियो। त्यतिबेला दूतावास नहुँदा हामी नै दूतावास जस्तो थियौं।

हेर्दाहेर्दै आज अष्ट्रेलियामा नेपाली नभएको शहर छैन। नेपाली–नेपाली ठोकिने अवस्था आएको छ। दुई लाखको हाराहारीमा नेपालीको संख्या पुगेको सुन्दा मन नै दंग भएर आउँछ। रेस्टुरेन्ट, ग्रोसरी लगायतका व्यापार र व्यवसायमा नेपालीहरूले फड्को मारेको देख्दा निकै खुशी लाग्छ। अहिलेको पुस्ता निकै भाग्यमानी छ किनकि अहिले त नेपाल र नेपालीको अभाव हुँदैन।

आज अष्ट्रेलियामा नेपाली समुदाय विस्तार हुँदै गएकोमा खुशी लाग्छ। हामी त्यतिबेला नेपाली बोलेको सुन्न लालायित हुन्थ्यौं। अष्ट्रेलियनहरूले नेपाल कहाँ हो भनेर सोध्दा माउण्ट एभरेष्ट भएको देश भन्नुपर्दथ्यो तर, आज त्यो अवस्था छैन। यहाँ पनि नेपालीहरूले शान–मानका साथ आफ्नो उपस्थिति जनाएको देख्दा गौरव लागेर आउँछ।

(Visited 392 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services