
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार शर्मा (आरके) नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेको छ ।भेटमा टोलीले गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार भाडामा एनआरएनएलाई नै दिन आग्रह गरेको छ ।
ललिता निवासको जग्गा सरकारले जफत गर्ने विषेश अदालतको आदेश अनुसार एनआरएनको भवन रहेको जमिन पनि सरकार मातहतमा आउने छ । त्यसैले टोलीले त्यो भवन आफूहरुलाई नै भाडामा दिने व्यवस्था गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको हो ।
‘अदालतको फैसलालाई सम्मान गर्दै एनआरएनए रहेको मुख्यालय भवन लिजमा अन्य कानुनी आधारबाट एनआरएनएलाई प्रयोग गर्न दिने व्यवस्था मिलाउन सम्माननीय प्रधानमन्त्रीलाई अनुरोध गरेका छौं,’शर्माले भेटपछि भने, ‘सम्माननीय प्रधानमन्त्री ज्यूले नागरिकतामा पाउने अधिकारहरुको विषयमा छिट्टै कानुनी व्यवस्था हुने र नियम अनुसार भवनको विषयमा निर्णय हुने आश्वासन दिनु भएको छ ।’
भेटमा एनआरएनए उपाध्यक्ष गंगाधर गौतमले एनआरएनएको भवनको लागि जग्गा किन्नेहरु दोषी रहेको भन्दै उनीहरुलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने र सरकारले विशेष निर्णय गरेर केही समयको लागि भवन एनआरएनएलाई दिनुपर्ने बताए । उनले आफूहरु अदालतमा जाने पक्षमा नरहेको जानकारी पनि प्रधानमन्त्रीलाई दिए ।ललिता निवासको जमिनमा एनआरएनएले ४१ करोड रुपैयाँको लगानीमा भवन बनाएर आफ्नो कार्यालय राखेको थियो ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services