अस्ट्रेलिया पढ्न आएका छोराछोरी आमाबुबा देखि किन टाढिदै जान्छ ?
✍ हेमन्त काफ्ले
प्रकाशित मितिः2 years ago

सिड्नी। यतिबेला विदेश अध्ययन गर्न जाने र पठाउनेको प्रतिस्पर्धा नै देखिन्छ नेपालमा। अमेरिकाको भिसा दिएन,अस्ट्रेलिया ट्राई गर्ने। त्यता पनि भएन क्यानडा जाने, कतै भएन भने न्युजिल्यान्ड र लन्डन पनि नछाड्ने। यसरी बर्सेनि लाखौं युवा विदेशिने क्रम बढ्दै गर्दा अस्ट्रेलिया, अमेरिकाजस्ता हजारौं नेपाली विद्यार्थीहरू अध्ययनरत मुलुकमा केही खुसीका क्षणसँगै पीडाको पहाड पनि उक्लिनेक्रम बढ्दो छ।

छोराछोरीलाई विदेश पठाएपछि कमाउँछन् र रमाउँछन् भन्ने सोच्ने अभिभावकहरू केही महिना, वर्षमै विछोडको पीडामा रूमल्लिन बाध्य भएको केही घटनाक्रमले पुष्टि गरेको छ। यस्तै, पीडा र विछोडको केही प्रतिनिधि घटनाहरूले अस्ट्रेलियाको नेपाली समाजलाई पनि झक्झकाएको छ। पछिल्लो हप्ता अस्ट्रेलियामा चार जना नेपाली विद्यार्थीहरूले ज्यान गुमाए। पर्थमा पानीमा डुबेर घुम्न गएका एक नेपाली युवाले अकालमा ज्यान गुमाए भने मेलवर्नमा पनि एक युवाले ज्यान फाले। यस्तै क्यानबेरा र सिड्नीमा दुई जना नेपाली विद्यार्थीहरूले देहत्याग गरे।

यो वर्षको प्रारम्भमै यस्ता खाले दुस्खद् घटनाक्रमले ती विद्यार्थीको परिवारमा कस्तो बित्यो होला ?कयैन् बाबुआमाका आँसु अझै थामिएका छैनन्, विदेश पठाएको छोरोको लास कुरेर बसेका ती अभिभावकमाथि परेको बज्रपातको कुरो गरेर साध्य छैन। आमा मुर्छित, बाबु भावशून्य अनि परिवार शोकमा डुबेको खबरले यताका साथीभाइ पनि बोल्न सकिरहेका छैनन्।

यसरी अकालमा ज्यान गुमाउनेहरूको घटनाक्रमसँगै पारिवारिक विछोडको अर्को पीडाले नराम्रोसँग गाँजेको छ विदेशमा। समुन्द्र किनार र गगनचुम्बी मिनार अनि पहेंलो डलर र त्यसले फेरिने कलरको मोहमा कलिलै उमेरमा विदेशिएका युवायुवती अभिभावकसँग सम्पर्कविहीन हुन थालेपछि यसले परिवारलाई पिरोल्न थालेको छ।

लाखौं रुपैयाँ खर्चेर अस्ट्रेलिया पढ्न पठाएको छोरो डेढ वर्षमै सम्पर्कविहीन भएपछि हारगुहार गर्दै एक जोडी नेपाली अभिभावक डेढ महिना अस्ट्रेलिया बसेर फर्केको भर्खरै हो। पढेर उच्च शिक्षा र मनको आकांक्षा पूरा गर्ने आशामा बसेका अभिभावक आफैं छोरो खोज्न अस्ट्रेलियाको सहर सहर भौंतारिनु पर्दाको पीडा कसलाई सुनाउने र भन्ने ? तर के गर्ने छोरोको खोजीमा आएको बाबु नै बिरामी परेर थलिएपछि परिवारमा पीडाको पहाड नै टुट्योभन्दा फरक नपर्ला। तर अठार वर्ष पुगिसकेको छोरोले आमा बाबुलाई समेत भेट्न नमानेपछि उनीहरू गह्रुंगो मन लिएर नेपाल फर्केका छन्।

अस्ट्रेलियाको व्यक्तिगत स्वतन्त्रता र बालिग अधिकार अन्तर्गत १८ वर्ष माथिको कुनै पनि स्वदेशी तथा विदेशीलाई उसको इच्छाबिना जबरजस्ती गर्न पाइँदैन।यो अधिकार मिचेर राजदूतावास होस् या सामाजिक संघसंस्था अथवा अभिभावकले पनि केही गर्न सक्ने आधार रहँदैन। यस्तै, अर्को घटनाका रूपमा सात वर्षदेखि अस्ट्रेलिया बसेका एक युवाले पढाइ बिगारेपछि परिवारसँग बिस्तारै टाढिन थाले। पढ्न पठाएको छोरो चार वर्षदेखि सम्पर्कमा नआएपछि अभिभावकले नातागोतासँग खोजिदिन आग्रह गरे।

ऊ भने सिड्नीमै थियो तर सबै नाता कुटुम्ब अनि साथीभाइसँग सम्पर्क बाहिर। पढाइ बिग्रियो, त्यसपछि भिसा सिद्धियो तर ऊ यतैकतै भौंतारिँदै छ। उसलाई देख्नेहरू प्रशस्तै छन् तर अभिभावक भने खोजेका खोजै छन्। नेपाली राजदूतावासमा पनि यस्ता खाले घटना खोजिदिन आग्रह गरिएका अनुरोधहरू आएको स्वयं राजदूत कैलाशराज पोखरेल बताउँछन्।

‘तर हामीले सम्बन्धित निकायमा पत्राचार गरिदिने हो। स्वयं बालिग विद्यार्थीले नै अभिभावकसँग भेट्न अस्वीकार गरेपछि कसैको केही लाग्दैन रहेछ, भेटका क्रममा राजदूत पोखरेलले भने। लागुपदार्थ, जुवातास, फेसनमा फसेका युवाहरूमा यस्तो अवस्था बढी देखिएको एनआरएनका सचिव ज्ञानेन्द्र रेग्मी बताउँछन्।

‘सानै उमेरमा विदेश आए, रमाइलोतिर फसे, पढाइ कमजोर हुँदै गयो अनि विस्तारै जुवा, लागुपर्दाथमा तानिए त्यसपछि परिवारसँग टाढिए। पछिल्ला केही घटनाक्रमले यस्तै कुरा देखिएको छ, उनले भने। अहिले लिभिङ टुगेदरको संख्या पनि ह्वात्तै बढेको छ। हुन त संख्यात्मक रूपमा नेपाली विद्यार्थीको संख्या ह्वात्तै बढ्दै गर्दा विकृत्तिका सानातिना पाटा पनि सामान्य हुन सक्लान्। तर त्यसो भनेर यस्ता घटनालाई नजरअन्दाज गर्न सकिन्न। अध्ययन रअध्यापनका लागि भनेर बाबुआमाले स्वर्णिम भविष्यको कल्पना गर्दै विदेश पठाएका नानीबाबुहरूको पहिलो उद्देश्य शिक्षामै निहित हुनुपर्दछ भन्ने विषय महत्वपूर्ण हो। (साभार :सेतोपाटी डटकम)

(Visited 245 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services