
काठमाडौ । अब सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निकाल्न दिइने ट्रायल परीक्षा सडकमा समेत गएर दिनुपर्ने भएको छ।यातायात क्षेत्र सुधार सुझावका लागि गठित कार्यदलले तयार पारेको प्रतिवेदनले यस्तो सुझाव दिएको हो। हालको व्यवस्थाअनुसार लिखितमा नाम निस्केपछि ट्रायल परीक्षा केन्द्रमा गएर ट्रायल दिनुपर्छ। यहाँ पास भए लाइसेन्स निकाल्न सकिन्छ।
तर कार्यदलले तयार पारेको सुझावलाई सरकारले मान्ने हो भने नयाँ व्यवस्थाअनुसार केन्द्रमा सञ्चालन गरिने परीक्षापछि वास्तविक सडकमै गएर ‘रोड टेस्ट’ परीक्षा दिनुपर्ने हुन्छ। ट्रायल परीक्षा ट्रायल केन्द्रका साथै सार्वजनिक सडकमा चलाउन लगाएर हुनेछ।
अहिलेको अवस्थामा सवारीचालक अनुमतिपत्र परीक्षाको लागि निर्धारित सैद्धान्तिक तथा प्रयोगात्मक सिकाइ र परीक्षा प्रणालीले सडकमा सवारी गुडाउँदाको वास्तविक अवस्थालाई समेट्न नसकेको समस्या देखाउँदै सुझाव कार्यदलले रोड टेस्टको अवधारणा अघि सारेको हो।
सवारीचालक अनुमतिपत्र परीक्षा पास गरेको एक हप्ताभित्र स्मार्ट कार्ड छपाइ गर्ने र एक महिनाभित्र सेवाग्राहीको घर(घरमै पुर्याउने व्यवस्था गर्न समेत सुझाव दिइएको छ। त्यस्तै अहिले लाइसेन्सको बहाल अवधि ५ वर्ष रहेकोमा यसलाई १० वर्ष बनाउन सुझाव दिएको छ। यसमा चालकको स्वास्थ्य तथा मानसिक अवस्थाको आवधिक परीक्षण सुनिश्चित गर्न व्यावसायिक चालक अनुमतिपत्रको बहाल अवधि भने १० तोक्न सुझाव दिएको छ।
त्यस्तै व्यावसायिक चालक अनुमतिपत्रको छुट्टै व्यवस्था नहुँदा सार्वजनिक सवारी चालकहरूलाई सुरक्षा उन्मुख, जिम्मेवार, यात्रुमैत्री तथा मर्यादित बनाउन नसकिएको समस्या देखाउँदै सार्वजनिक सवारी चलाउने (व्यावसायिक) अनुमतिपत्रको लागि अलग पाठ्यक्रम तथा परीक्षा प्रणाली विकास गर्नुपर्ने बताएको छ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services