
काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गरेका छन् । परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।
हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीहरुले नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुर्याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए ।सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अस्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए । ‘अस्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्रहरू हुन् । हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अस्ट्रेलियालीको समुदाय तीव्र रूपमा बढिरहेको छ,’ सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले ट्विटरमा लेखेका छन् ।
वाट्सले गत वर्ष नेपाल भ्रमण गरेका थिए । उक्त कुरा पनि उनले स्मरण गरेका छन् । उक्त भ्रमणका क्रममा आफूले नेपाल सरकार, विभिन्न क्षेत्रका अगुवाहरूसँग आपसी सम्बन्ध थप गहिराइमा पुर्याउने अवसरका र उपायबारे कुराकानी गरेको उनले सम्झिएका छन् ।
त्यसबेला परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराई पुर्याउने विषयमा छलफल गरेको स्मरण गरेका उनैले दुवै देशबीच आर्थिक तथा लगानी फ्रेमवर्कमा हस्ताक्षर गर्ने अवसर मिलेकोमा खुशी व्यक्त गरेका थिए ।
‘त्यो छलफलपछि दुवै देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने गरी दुवै देशका अधिकारीरूले औपचारिक सम्झौताका लागि पटक–पटक छलफल गरेका थिए,’ उनको भनाइ छ, ’पर्थमा ९यसपाली० हामीले त्यसलाई वास्तविकतामा परिणत गरेका छौँ । यो सम्झौताले हामीबीचको बलियो सम्बन्धलाई देखाएको छ ।’ (साभार अनलाइन खबर)
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services