विदेशमा विद्यार्थी जीवन
✍ हिरा विश्वकर्मा
प्रकाशित मितिः5 months ago

सिड्नी । पश्चिमा विकसित देशहरूको जीवनपद्धति कस्तो होला ?धेरै जसो ठाउँमा मानिसको जीवनपद्धति त्यहाँको धर्मसंस्कृति, भूगोल र अन्य प्राकृतिक वातावरणले निर्देश गरेको हुन्छ। कतिपय ठाउँमा धर्मले विशेष स्थान लिएको हुन्छ।

अलि पुरानो युरोपको कुरा गर्दा धर्म र शासन एकअर्कासँग जोडिएका थिए। शासकलाई धर्मले ईश्वरीय अधिकारप्राप्त मालिकका रूपमा परिभाषित गर्थ्यो। जनताको कुनै अधिकार हुँदैन थियो।

फ्रान्सका राजा लुई चौधौंले  म नै राज्य हुँ भनेका थिए। जनता राज्यका लागि कर असुल्ने स्रोत मात्र थियो। धर्मगुरू र राजपरिवारले जनताबाट असुलेको कर आफ्नो शासन लम्ब्याउन र सिमाना सुरक्षा गर्नमा खर्च गर्थे। निकै ठूलो रकम सैनिकमा खर्च हुन्थ्यो। त्यसपछि मोजमस्तीमा खर्च गर्थे।

शिक्षामा युरोप उदार थियो। खर्च गर्न सक्नेले पढ्न पाउने सुविधा भएकाले चौधौं र सोह्रौं शताब्दीका बीचमा रेनेसा अर्थात् पुनर्जागरणको युग सुरू भयो। त्यसमा धेरै विद्वानहरूले धर्म र राज्य कुनै दैवी शक्तिका बलमा चल्ने होइन, यो त जनताको इच्छाअनुसार चल्ने हुनुपर्छ, राज्यलाई जनताको जीवनमा हस्तक्षेप गर्ने र उनीहरूको स्वतन्त्रता खोस्ने अधिकार हुँदैन भन्ने तर्क गरे।

पुनर्जागरण युगका पछिल्ला नायक थिए स्विट्जरल्यान्डमा जन्मेर फ्रान्सलाई आफ्नो कर्म थलो बनाएका जँ जाक रूसो।उनले मान्छे जन्मिँदा स्वतन्त्र हुन्छ तर बिस्तारै आफूलाई सबैतिरबाट जन्जिरमा बाँधिएको पाउँछ भनेका थिए। त्यस्तो जन्जिर राज्यसँग जोडिएको हुन्छ र त्यो तोड्नुपर्छ भन्ने उनको मुख्य सन्देश थियो।

जोन लकबाट सुरू भएर इमानुअल कान्त हुँदै रूसोसम्म आइपुग्दा सामाजिक सम्झौताको सिद्धान्त प्रतिपादन भइसकेको थियो। त्यो सिद्धान्तले राज्य र आमनागरिकबीच एउटा सम्झौता भएको हुन्छ, त्यो सम्झौता अन्तर्गत राज्यले जनतालाई बाह्य आक्रमणबाट सुरक्षित राख्न कर लिन्छ। त्यसबाहेक अन्य क्षेत्रमा राज्यले हस्तक्षेप गर्नु हुँदैन भन्ने मानिन्थ्यो।

त्यो सिद्धान्तले मान्छेको व्यक्तिगत स्वतन्त्रता र अधिकारको वकालत गर्थ्यो। आज पनि युरोपमा त्यसको प्रभाव छ, सबैजसो युरोपेली मुलुकले व्यक्तिगत स्वतन्त्रता र अधिकार प्राथमिकतामा राखेका छन्।

त्यसको प्रभाव अमेरिकामा पनि पर्‍यो र त्यहाँको संविधान बन्यो जसले ुलाइफ लिवर्टीु र परस्युट अफ ह्याप्पिनेसु को कुरा गर्‍यो। फ्रान्समा राज्यक्रान्ति नै भयो जसले त्यहाँको राजतन्त्र ढाल्यो। गुलेटिन मसिनमा राखेर राजखलकका सबैको ज्यान लियो।

व्यक्तिगत स्वतन्त्रताले विद्यार्थी जीवनमा कस्तो प्रभाव परेको होला भन्ने प्रश्न उठ्छ। मैले यो सिद्धान्तका बारेमा जेजति बुझेँ र त्यहाँका विद्यार्थीहरूको जीवनपद्धति जति हेरेँ, उनीहरूको जीवनमा त्यसको गहिरो प्रभाव रहेको पाएँ।

व्यक्तिगत स्वतन्त्रतामा अत्यन्तै विश्वास गर्ने भएकाले पश्चिमा मुलुकमा नवजात शिशुलाई पनि सकेसम्म आमाबाबुले सँगै सुताउँदैनन्। आवश्यक सबै सेवासुविधा उपलब्ध गराउँछन् तर आफूसँग टाँसेर राख्दैनन्। घरबाहिर घुम्न निस्किँदा पनि गुडाउने साधनमा बच्चा राख्छन्।

यसरी हुर्काउँदै जाँदा बालबालिकामा एक्लै सुत्ने र रमाउने बानी विकास भएको हुन्छ। छोराछोरीको उमेर १६ वर्ष नपुग्दासम्म सबै जिम्मेवारी आमाबाबुले नै लिएका हुन्छन्। त्यसपछि आफ्नो गोजीखर्चको कमाइ आफैं गर्नुपर्छ। गोजीखर्च जुटाउन नसक्नेहरूले आफूलाई कमजोर सम्झिन्छन्।

कतिपय मुलुकमा त १८ वर्ष उमेर पूरा भई स्वतन्त्र हुन पाएको खुसीयाली मनाउने चलन पनि छ। छोराछोरीको उमेर १८ वर्ष पूरा भएपछि उनीहरूलाई आमाबाबुले कुनै पनि तरिकाले आफ्नो इच्छाअनुसार चलाउन वा बन्धनमा राख्न पाइँदैन भन्ने मान्यता छ।

माध्यमिक अर्थात् कक्षा १२ सम्मको पढाइको सबै जिम्मेवारी राज्यले नै लिएको हुन्छ। शिक्षा गुणस्तरीय हुन्छ। प्रत्येकले माध्यमिक शिक्षा पूरा गर्नैपर्ने कानुनी प्रावधान छ। पढाइ नगर्नेलाई सरकारी निरीक्षकले कारबाही गर्छन्।

माध्यमिक शिक्षा पूरा गर्दा विद्यार्थीको उमेर १८ वर्ष भएको हुन्छ। उनीहरूले आफूले चाहेको विषयमा आधारभूत शिक्षा पूरा गरेका हुन्छन्। सोही अनुरूप रोजगारीका लागि योग्य हुन्छन्।

आयरल्यान्डमा १२ कक्षा पूरा गर्नेमध्ये ३० प्रतिशत छात्र र ३५ प्रतिशत छात्रा मात्रै स्नातक तहका लागि कलेजमा भर्ना हुन्छन्। प्रायजसो कलेजमा शुल्क तिर्नुपर्दैन। तिर्नुपर्ने हुँदा पनि केही विकल्प हुन्छन्। राज्यले ऋण दिन्छ। कुनै परोपकारी निकायले छात्रवृत्ति दिन सक्छ। कमाउँदै पढ्दै गर्न पनि पाइन्छ।

राज्यबाट ऋण लिएर पढ्दा पनि खानेबस्ने खर्च आफैंले जोहो गर्नुपर्छ। नेपालमा जस्तो आमाबाबुले घरखेत बेचेर वा ऋण काढेर खर्च बेहोर्दैनन्। यसकारण हप्ताका २० घन्टा वैधानिक रूपमा काम गर्न पाइन्छ। त्यही समयमा विद्यार्थीले खानेबस्ने खर्च जुटाउँछन्।

त्यहाँ विद्यार्थीहरू समय मिलाएर मुख्यत: सपिङ मल, कारखाना, रेस्टुरेन्ट, होटल, पेट्रोल पम्प इत्यादिमा काम गर्छन्। यस्ता सबै ठाउँमा घन्टाका हिसाबले बेतन प्राप्त हुन्छ। मेरो समयमा एक जनाका लागि खानबस्न महिनामा एक हजारदेखि १५ सय डलरसम्म खर्च हुन्थ्यो।

विद्यार्थी बस्ने भनेको कलेजले चलाएको होस्टल वा बाहिरको अपार्टमेन्टमा हो। एउटा अपार्टमेन्टमा चार(पाँच जना मिलेर बस्न सक्ने सुविधा हुन्छ। यसरी पढ्ने विद्यार्थीलाई काम र पढाइको धेरै बोझ हुन्छ, आपसमा गफ गर्ने फुर्सद हुँदैन।

जताततै म्याक्डोनाल्ड्स लगायतका फास्टफुड चेन भएकाले आफैं खाना पकाउने झन्झट नगर्दा पनि हुन्छ। आम्दानी कम हुनेलाई भने गुजारा गर्न कठिन हुन्छ। य

नेपालबाट १२ कक्षा पूरा गरेर पढ्न विदेश जाने विद्यार्थीका आमाबाबु खर्च पठाउन सक्ने हैसियतका छैनन् भने त्यस्ता विद्यार्थीको जीवन निकै कष्टपूर्ण हुन्छ। विदेश जाने बेलामा उनीहरूले त्यसको कल्पनासम्म पनि गरेका हुँदैनन्।

म आयरल्यान्डमा पढ्दा भारतीय साथीहरूसँग बसेको थिएँ। तीमध्ये एक जना कानुनमा स्नातकोत्तर पढ्थे। उनी र म एउटै कलेजका विद्यार्थी थियौं। उनी आफू राजपूत परिवारको हुँ, घरमा भान्से र अन्य नोकरचाकर छन् भन्थे। कलेजले मागेको न्यूनतम शुल्क तिरेर आयरल्यान्ड गएका थिए।

हामी बसेको कोर्क सहर राजधानी डब्लिनभन्दा सानो थियो। आर्थिक गतिविधि धेरै थिएन, विद्यार्थीले काम पाउन पनि सजिलो थिएन। ती भारतीय साथीलाई कलेजको बाँकी शुल्क र कोठाभाडा तिर्न मुश्किल थियो। खाने खर्च जुटाउन धौधौ परेको थियो।

धेरै प्रयासपछि उनले त्यहाँको म्याकडोनाल्ड्स रेस्टुरेन्टमा काम पाए। कामबाट डेरामा फर्किँदा रातको ११ बज्थ्यो। उनी कामले छियाछिया भएको हात देखाउँथे।

राति १० बजेसम्ममा रेस्टुरेन्ट बन्द हुन्थ्यो वा अर्को सिफ्ट सुरू हुन्थ्यो तर आफ्नो सिफ्टको अन्त्यमा सरसफाइ गर्नुपर्थ्यो। सरसफाइ राम्रो नभएमा सुपरभाइजरले बेस्सरी गाली गर्थ्यो। कामबाट निकालिदिने धम्की पनि दिन्थ्यो।

काममा राख्ने र कामबाट निकाल्ने विषयमा खास नियम थिएन। काममा लगाउनेले यु आर फायर्डु भनेपछि जागिर जान्थ्यो। काम गर्नेले पनि आई क्विटु भनेपछि सकिन्थ्यो। कुनै लिखत आवश्यक थिएन।

त्यसरी काम गर्ने विदेशी विद्यार्थी सधैं त्राहिमाम हुन्थे। काम गर्नुको विकल्प थिएन। मलाई ती भारतीय साथीको अवस्था देखेर घरमा नोकरचाकर राख्न सक्ने परिवारको व्यक्ति यो विदेशी भूमिमा किन यति कठिन काम गर्छ जस्तो लाग्थ्यो।

स्थानीय विद्यार्थीहरूसँग अनेक विकल्प हुन्थे। उनीहरू भरसक बढी परिश्रमको काम गर्दैन थिए। हाकिमले थर्कायो भने ुआई क्विटु भनेर छोडिदिन्थे। विदेशी विद्यार्थीसँग सीमित विकल्प हुन्थ्यो। निकै कठिन अवस्थामा पनि काम छोड्दैन थिए। यस कारण श्रमको काममा भारतीय तथा अफ्रिकी मूलका विद्यार्थी रोजाइमा थिए।

आजभन्दा बीस वर्षअघि म पढ्ने आयरल्यान्डको कलेजमा पाँच हजारभन्दा बढी चिनियाँ विद्यार्थी थिए। उनीहरू प्राय: स्नातकोत्तर वा विद्यावारिधि तहका थिए। उनीहरूको पढाइ खर्च सरकारले वा कुनै व्यापारिक घरानाले बेहोरेको थियो। उनीहरूको जीवन सामान्य थियो तर भारतीय र अफ्रिकीले जस्तो कठिन संघर्ष गर्नुपर्दैन थियो।

त्यो बेला राजधानी डब्लिनमा १८ हजार चिनियाँ विद्यार्थी छन् भन्ने सुनेको थिएँ। त्यहाँको विश्वविद्यालयको आधाभन्दा बढी खर्च चिनियाँ विद्यार्थीहरूले धानेका थिए।

त्यहाँ ठूलो संख्यामा मलेसियाली विद्यार्थी पनि थिए। उनीहरूको यकिन संख्या थाहा भएन तर धेरै थिए। उनीहरूको जीवन बडो सुखी देखिन्थ्यो। धेरैले एक्लै एउटा एपार्टमेन्ट लिएका थिए। आफ्नो व्यक्तिगत कार पनि राखेका थिए। यसो हेर्दा स्थानीय आइरिस विद्यार्थीभन्दा मलेसियालीहरू अत्यन्त सौखिन देखिन्थे, अर्को देशमा छुट्टी मनाउन गएका जस्ता। कलेजमा हुने लामो बिदामा आफ्नै खर्चमा युरोप घुमेको कुरा गर्थे।

अहिले नेपालबाट उच्च तथा मध्यम वर्गका विद्यार्थीहरू ठूलो संख्यामा पश्चिमा देशहरूमा गइरहेका छन्। धेरैका आमाबाबुले कलेजको एउटा सेमेस्टरको शुल्क र बढीमा ६ महिना खानबस्ने खर्च जोहो गरेर पठाएका हुन्छन्। भर्खर १२ कक्षा पूरा गरेका यस्ता छोराछोरीहरू घरमा पुल्पुलिएका हुन्छन्। काम जानेका हुँदैनन्, जाने पनि गर्ने बानी हुँदैन।

त्यस्ता विद्यार्थी खर्चिलो विकसित मुलुकमा पुगेर आफैंले पकाउने र भाँडा माझ्ने, जीवन धान्न चाहिने खर्च जुटाउने अनि पढाइ पनि पूरा गर्नुपर्ने बाध्यतामा हुन्छन्। यस्तो अवस्थामा मात्र उनीहरू जीवन बुझ्छन्, संघर्षको अर्थ थाहा पाउँछन्।

खानबस्न मात्रै काम गर्नुपर्दा त त्यति धेरै कठिन हुँदैन तर जब कलेजको शुल्क डलरमा जुटाउनुपर्छ तब विद्यार्थीहरू तनावमा पर्छन्। यता घरमा कतिपय परिवारको अपेक्षा त कमाएर पैसा पठाओस् भन्ने पनि हुन्छ। सबै कुरा बुझेर जीवनको वास्तविक संघर्ष थाहा पाउन पश्चिमा देशमा पढ्न जानु भने उचित नै हुन्छ जस्तो लाग्छ। (साभार सेतोपाटी)

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services