अस्ट्रेलिया आउँदा के–के ल्याउन पाइन्छ ?
प्रकाशित मितिः6 months ago

सिड्नी । नेपालबाट सिड्नी आएका एक विद्यार्थीले साथीभाइको लहलहैमा लागेर १२ प्याकेट चुरोट ल्याए तर उनले आफूले ल्याएको सामान अर्थात् सुर्तीजन्य पदार्थको बारेमा आगमन फारममा केही भरेनन्। पढ्न आएका विद्यार्थीले पहिलो आगमनमै विमानस्थलमा तीन सय पचास डलर जरिवाना तिर्नुपर्‍यो।

नेपाली अभिभावकले छुर्पी र गुन्द्रुक अनि सुकुटी बोकेर आउँदा विमानस्थलमा निकै ठूलो सास्ती मात्रै बेहोर्नु परेन भने ठूलै जरिवाना समेत तिर्नु परेको घटना भर्खरैको मात्र हो। पशुपंक्षीमा देखिने फुट एन्ड माउथु संक्रमक फैलिरहेको इन्डोनेसियाबाट अस्ट्रेलिया फर्केका एक यात्रुलाई, जैविक सुरक्षा नियम उल्लंघन गरेको भन्दै करिब तीन हजार डलर जरिवाना गरिएको समाचार भर्खरै सार्वजनिक भएको छ।

आगमन फारम भर्दा आफूले ल्याएको खानेकुराकाबारे जानकारी नगराएको भन्दै अधिकारीहरूले ती यात्रुमाथि जरिवाना गरेका हुन्।विमानस्थलमा गन्धबाट सामान पत्ता लगाउने कुकुरलाई बायोसेक्युरिटीका लागि खटाइएको हुन्छ र यिनले यस्ता खानेकुराहरू सहजै सुँघेर पत्ता लगाउने गर्छन्।

अस्ट्रेलिया बसोबास वा अध्ययन गर्न आउनेले के सामान ल्याउन पाइन्छ र के पाइँदैन भन्ने कुराको हेक्का राख्न सक्नुपर्छ नत्र सानो गल्तीले ठूलो सजायको भागीदार बन्नुपर्ने हुन्छ।अन्य देशबाट अस्ट्रेलिया भित्रँदा अस्ट्रेलियाली कानुनले देशभित्र ल्याउन दिने र नदिने सामग्रीबारे तपाईंलाई ज्ञान हुनु आवश्यक छ। आयातसम्बन्धी नीतिहरू समय समयमा परिवर्तन हुन सक्छन्, त्यसैले पनि यससँग अध्यावधिक रहन जरूरी देखिन्छ।

अस्ट्रेलियाको जैविक सुरक्षा कानुनले ९बायोसेक्युरिटी कानुन० हानिरहित देखिने तर यहाँको वातावरण र कृषिमा विनाशकारी प्रभाव पार्न सक्ने केही वस्तुहरूको आयातलाई निषेध गरेको छ। कृषि, पानी र वातावरण विभागले बायोसेक्युरिटी इम्पोर्ट कन्डिसन्स सिस्टममार्फत् देशमा आयात गरिएका उत्पादनहरूको नियमन गर्छ।

ताजा फलफूल र तरकारी, मासुका उत्पादनहरू, चामल, गेडागुडी, अण्डा र ताजा पानीको माछा जस्ता खाद्य सामग्री विशेष अनुमतिबिना अस्ट्रेलिया ल्याउन पाइँदैन। व्यावसायिक अनुमति पाएका प्याकेज बीउहरू र व्यक्तिगत प्रयोगको लागि डाक्टरले प्रेसक्रिप्सन लेखेर दिएका औषधिहरू भने ल्याउन पाइन्छ।

यदि कुनै यात्रुसँग जैविक सुरक्षालाई हानि पुग्ने सामग्री छ र उनले त्यसको जानकारी दिएनन् या त्यसलाई फालेनन् भने उसले ठूलै जरिवाना तिर्नुपर्ने हुन्छ, या मुद्दा चल्नुका साथै देशमा प्रवेशबाट रोक लाग्न सक्छ।

देशभित्र ल्याउन पाउने र नपाउने सामग्रीको बारेमा जानकारी राख्न, र त्यससम्बन्धी कानुनको पालना गर्ने, यात्रुको जिम्मेवारी हो। विदेशबाट आइपुग्दा सबै यात्रुहरूले अनिवार्य आगमन फारम भर्नु पर्दछ। अभिभावक बोलाउने छोरा छोरीले यस विषयमा अभिभावकलाई प्रष्ट नपार्दा अनेकन झमेलामा परेको समाचार सुनिने गर्छ।

जैविक सुरक्षालाई जोखिममा पर्ने कुनै पनि सामान जस्तै खाद्य पदार्थ, पशु उत्पादनहरू, बोटबिरूवा र काठका सामग्री आफूसँग छ भने, उक्त कार्डमा उल्लेख गर्न जरूरी हुन्छ।बायोसेक्युरिटी अधिकारीहरूले कार्डमा लेखिएका सामानहरूको निरीक्षण गर्छन् र ती सामान सुरक्षित छन् कि छैनन्, देशभित्र लग्न दिने कि, फिर्ता पठाउने कि, त्यसको विनाश गर्ने भनेर निर्णय गर्छन्।

अस्ट्रेलियामा धेरै वस्तुहरूलाई अनुमति छ र विभागले विशेष आयात अनुमति प्रदान नगरेसम्म हानिकारक कीरा र रोगहरू निम्त्याउने वस्तुहरूलाई निषेध गरिएको छ।त्यस्तै, यात्रुहरूले ताजा पानीको माछा ल्याउन पाइँदैन। माछा ल्याउने हो भने त्यो नुनिलो पानीको हुनुपर्छ, र तिनको भित्रका सबै अंगहरू निकालिएको हुनुपर्छ।

दुग्धजन्य पदार्थ, केक, मह, र समुद्री खानालगायत अन्य खाद्य पदार्थहरूको निरीक्षण गरिन्छ। चामल, दाल र बालीको बीउ जस्ता वस्तुहरू निजी प्रयोगको लागि ल्याउन प्रतिबन्धित छन्।चामल, गेडागुडी, जस्तै बीउ, सिमी, चना, भटमास, दाल, आदिको उत्पादन अस्ट्रेलियामा निकै राम्रो छ। गहुँ, जहुँ, काँचो बदामजस्ता बीउहरू पनि यही वर्गमा पर्दछन्।

कुनै वैध आयात अनुमति बिना, अण्डा, जीवित जनावरहरू, बिरूवाहरू, कटिङहरू, काठका उत्पादनहरू र अन्य जैविक सामग्री पनि ल्याउन पाइँदैन।सामानहरू आफूले ल्याएको छु भनेर आगमन फारममा जानकारी नदिए जरिवाना तिर्नुपर्ने हुन्छ। यस्ता जरिवानाहरू चार सय डलरदेखि माथिका छन्।

जैविक सुरक्षा अधिकारीले ठाउँको ठाउँ नै तिराउन सक्ने सबभन्दा ठूलो जरिवाना रकम भनेको मासुको उत्पादनको लागि हो, जुन २६०० डलरको जरिवाना हुन्छ।जैविक सुरक्षाको लागि हानिकारक हुने सामान कसैले जानकारीबिना भित्र्याउन खोजेमा, उक्त यात्रुलाई अस्ट्रेलिया भित्रनबाट निषेध गर्न पनि सकिने अस्ट्रेलियन अध्यागमन विभागसँग अधिकार हुन्छ।

यदि कुनै गैर–अस्ट्रेलियाली व्यक्तिले देशमा ल्याउन नपाउने सामानको बारेमा जानकारी नदिइकन ल्याउन खोजेमा, उनको भिसा समेत खतरामा पर्न सक्छ चाहे त्यो विद्यार्थी भिसा, ४५७ भिसा, ट्रान्जिट भिसा तथा पर्यटक भिसा जुन पनि हुन सक्छ। यस्तै कारणले मानिसहरूको भिसा रद्द गरिएका उदाहरणहरू पनि छन्।

हतियारजस्ता सामग्री अनुमतिबिना अस्ट्रेलियामा ल्याउन पाइँदैन। त्यसैले, हतियार भित्र्याउनका लागि सम्बन्धित राज्य र प्रहरी बलको अनुमति आवश्यक हुन्छ, नेपालबाट उपहारस्वरूप ल्याइने खुकुरी पनि हतियार अन्तर्गत पर्न सक्दछ। निजी प्रयोगका लागि औषधी ल्याउन पाइन्छ तर त्यसको लागि डाक्टरले अंग्रेजी भाषामा लेखिएको प्रेस्किप्सनको आवश्यकता रहन्छ। (साभार सेतोपाटी डटकम)

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services